Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

जेठ ३० यता ठप्प छ सुकेटार विमानस्थल

जेठ ३० यता ठप्प छ सुकेटार विमानस्थल

फुङ्लिङ (ताप्लेजुङ) : ताप्लेजुङको सुकेटार विमानस्थलमा ठप्प भएको १५ दिन कटेको छ। चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट केही दिन उडान भएको यो विमानस्थल जेठ ३० यता फेरि ठप्प छ।

नेपाल वायु सेवा निगमले जेठ ३० गतेयता एकपटक उडान गरेको छैन। अरु कम्पनीका विमान यो विमानस्थल जाने गरेकै छैनन्। निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयताका ४ उडान रद्द भएका छन्। प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन्।

‘मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो,’ उनले भने। शुक्रबार ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ उडानमा तीन–तीनजना यात्रुले टिकट लिएका थिए। तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो।

नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ। टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन्। वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij