गोरखा : गोरखाका किसानहरुले गत बर्षको तुलनामा यो बर्ष १ करोड १५ लाख रुपैयाँ बढीको लिची बिक्री गरेका छन् ।गत बर्ष जिल्लाबाट १० करोडको लिची बिक्री भएकोमाा यस बर्ष ११ करोड १५ लाख रुपैयाँ बराबरको लिची बिक्री भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकास बस्ताकोटीले जानकारी दिए ।
यो बर्ष अनुकुल मौसम भएकोले पनि किसानले बढी उत्पादन भएको उनले बताए ।प्रमुख बस्ताकोटीका अनुसार गत बर्षको तुलनामा यो बर्ष ७.५ प्रतिशतले उत्पादनमा बृद्वि भएको हो ।
गएको बर्ष १८० हेक्टर क्षेत्रमा १ हजार ५९७.३२ मेट्रिक टन लिची उत्पादन हुदा गोरखाका किसानहरुले कम्तीमा पनि १० करोड रुपैयाँ जिल्लामा भित्राउन सफल भएको थियो भने यो बर्ष १८७ हेक्टर जमिनमा १ हजार ७१६.६६ मेट्रिक टन लिची उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।
उत्पादित लिची गत बर्षकै औषत मूल्य ६५ रुपैयाँ प्रति केजी बिक्री गर्दा पनि किसानहरुले ११ करोड १५ लाख रुपैयाँ हातपार्न सफल भएको प्रमुख बस्ताकोटीले जानकारी दिए ।
गोरखामा लिची खेतीको लागी पालुङटार नगरपालिकालाई पकेट क्षेत्रको रुपमा चिनिन्छ । पालुङटार नगरपालिको वडा नम्बर ६, ७ र ८ मात्रै जिल्ला कुल उत्पादनको ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ ।
यी वडाहरुमा मात्रै करिब ३० हजार लिचीको बोट रहेको अनुमान कृषि ज्ञान केन्द्रको रहेको छ । पालुङटार नगरपालिका भित्र १५० हेक्टर जमिनमा लिची खेती रहेको छ । यो बर्ष अझै लिची खेती गर्ने किसान र क्षेत्रफल बढेकोले आगामी बर्ष अझै धेरै उत्पादन र क्षेत्रफल बढ्ने छ ।जिल्ला भित्र करिब १ हजार ५०० किसान ब्यवसायीक लिची खेतीमा आबद्व भएको अनुमान छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij