Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

दाउन्ने दुम्किबास सडकखण्ड अझै सहज हुन सकेन

दाउन्ने दुम्किबास सडकखण्ड अझै सहज हुन सकेन

नवलपुर : पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड राम्रो गरी चल्न नसकेको १० दिन बढी भइसक्यो । यहाँ अझै पनि दुम्किबासको विनयी खोला, दाउन्नेको खुर्सानी खोला र विश्वकर्मा बाबा मन्दिर गरी तीन ठाउँमा यात्रा असहज छ ।

यात्रा सहज गराउन दुम्किबासको विनयी खोलाको पुल छिटै खोल्ने र दाउन्ने खण्डमा १० दिनमा पाँच सय टिप्पर गिटी बिछ्याउने भनिए पनि दुवै कामले अझै पूर्णता पाउन सकेको छैन । दुम्किबासको पुल तत्काल नखोल्ने पक्षमा ठेकेदार कम्पनी देखिएको छ भने दाउन्नेमा गिटी बिछ्याउने कामले पनि गति पाउन सकेको छैन ।

विगत दस दिनको अवधिमा नेपालमा मनसुन सक्रिय थियो, जसले गर्दा दाउन्नेको बाटो दैनिकजसो हिलो र चिप्लोले गाडी उक्लन सक्ने अवस्था भएन भने दुम्किबासको डाइभर्सन पटकपटक बगाएपछि बुटवल–नारायणगढ सडकखण्डको दुम्किबास र दाउन्नेमा यातायात सेवा पूर्णरुपमा प्रभावित भएको हो ।

दाउन्ने र दुम्किबासमा सडक पूर्णरुपमा बन्द हुँदा बुटवल–नारायणगढ सडक यति अस्तव्यस्त भयो कि एकदिनमै तीन हजार बढी सवारीसाधन रोकिने अवस्था बन्यो । यसबीचमा सडक आयोजनाले सडक नै बन्द गरेको सूचना निकालेर वैकल्पिक मार्ग प्रयोग गर्न लगाए पनि बुटवल–नारायणगढ सडकखण्डमा सवारीसाधन आउने क्रम रोकिएन ।

सामान्य अवस्थामा छोटा दूरीका सवारीसाधनलाई नगन्दा पनि दैनिक पाँच हजार सवारीसाधन गुड्ने यो बाटोमा अहिले दैनिक दुई/तीन सयको हाराहारीमा मात्र त्यो पनि यात्रुवाहक बस र हल्का सवारीसाधन मात्रै चलेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । उनका अनुसार अहिले पनि नवलपुर खण्डमा मात्रै पछिल्लो तीनदिनयता एक हजार बढी ठूला तथा मालवाहक सवारीसाधन होल्डमा रहेका छन् ।

होल्डमा रहेका सवारीसाधनलाई दुई/तीनदिनमा एकपटक दुम्किबासको विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर पठाउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेमा पछिल्लो दुईदिनयता घाम लागेका कारण यात्रा केही सहज भएको दाबी गरे, तथापि दाउन्नेमा बसहरु फस्ने र निकाल्ने क्रम भने अझै पनि चलिरहेको छ ।

दाउन्नेको पूर्वी खण्डमा रहेको नौ किलोमिटर सडकमा १० दिनभित्र पाँच सय टिप गिटी हालेर सडक सञ्चालन गर्ने आयोजनाले जनाएको भए पनि सोअनुसार काम हुन नसकेको ट्राफिक प्रहरी निरीक्षक बन्जाराले बताए । उनका अनुसार दाउन्ने खण्डमा काम भइरहेको छ, तर खासै उपलब्धिमूलक हुन सकेको छैन ।

पूर्वबाट आउने मालवाहक सवारीसाधनलाई नारायणगढबाट पोखरा–स्याङ्जा हुँदै बुटवलको बाटो र बुटवलबाट आउने मालवाहक सवारीसाधनलाई पाल्पा–पोखरा–मुग्लिन हुँदै पठाइने गरेका कारण अहिले नारायणगढ–बुटवल सडकमा सवारीसाधनको चाप निकै काम छ । तथापि, अझै दाउन्नेमा जाम हुने क्रम भने नरोकिएको प्रहरी निरीक्षक बन्जाराले बताए ।गैँडाकोट, कावासोती, अरूणखोला, बर्दघाट, दुम्किबासलगायतका क्षेत्रमा होल्डमा रहेका सवारीसाधनलाई अस्थायी डाइभर्सन बनाएर पास गराउने प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

यता, दुम्किबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको बुधबार २० दिन कटेको छ, तर पनि यो पुल तत्काल खोल्ने पक्षमा बुटवल–नारायणगढ सडक विस्तार गरिरहेको ठेकेदार पक्ष चाइना स्टेट कम्पनी देखिएको छैन । असार १४ गते सञ्चालनमा ल्याइने भनिएको पुल ढिलोमा असार २० सम्म सञ्चालनमा ल्याइने भनिए पनि अहिले असारको अन्तिमतिर मात्र सञ्चालनमा ल्याउने पक्षमा ठेकेदार पक्ष देखिएका छन् ।

चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाले दुम्किबासको विनयी खोलाको पुल सञ्चालनमा ल्याउन अझै कम्तीमा १० दिन लाग्न सक्ने बताए । उनले भने, ‘पुल निर्माण सम्पन्न भएको ४५ दिनपछि मात्रै सञ्चालनमा ल्याउनुपर्ने हो, तर यात्रुहरुको समस्यालाई ध्यानमा राखेर जुलाई ५ अर्थात् असार २१ तिर सञ्चालनमा आउन सक्छ । तर पनि पुललाई सडकसँग जोड्नेलगायतका काम बाँकी नै रहेकाले ५ जुलार्ईको ठाउँमा ८/१० जुलाई पनि हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij