कैलाली : पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन्।जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन्।
डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिए।“मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ। नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्”, उनले भने।
उनका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन्। डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन्।
उनले भने, “भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्दछन्। यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन्। मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन्।”
यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका श्रेष्ठले बताउनुभयो । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने उहाँको भनाइ छ.। “यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ”, उनले भने।
हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए। “भर्खरै डल्फिन देखिन थालेका छन्। अबको केही दिनमा पर्यटकहरू अवलोकनका लागि दैनिकी जसो यहाँ पुग्ने गर्दछन्”, उनले भने।पर्या–पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको डल्फिन संरक्षणका लागि यस क्षेत्रमा संरक्षण र प्रवर्द्धनका लागि विभिन्न काम भइरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij