हेटौँडा : बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटले सञ्चार क्षेत्रलाई पूर्णरूपमा नजरअन्दाज गरेको आरोपमा प्रदेशका दर्जनभन्दा बढी पत्रकार सङ्गठनहरूले संयुक्त ध्यानाकर्षण गराएका छन । मुख्यमन्त्री बहादुरसिंह लामा, आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेसमक्ष सरकारले नै सञ्चारमैत्री बजेटको प्रतिबद्धता जनाए तापनि वास्तविक बजेटले सञ्चारलाई “निषेध” गरेको उनीहरूको आरोप छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा लोककल्याणकारी विज्ञापन बजेटमा ८५ प्रतिशतको कटौती गरेकोमा सञ्चारकर्मीहरू आक्रोशित छन्। सरकारी नीति तथा कार्यक्रममा समावेश गरिएको पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्ने, सञ्चार क्षेत्रको विकासका लागि कानून बनाउने, विज्ञापनको पारदर्शी अनुगमन र नियमन गर्ने जस्ता खाका बजेटमा समावेश नभएको ठूलो कमी हो। आन्तरिक मामिला मन्त्रालयले केही लाख रुपैयाँको तजविज बाहेक सम्पूर्ण सञ्चार क्षेत्रको बजेट शून्य तथ्यलाई संघहरूले लोकतन्त्रको चौथो स्तम्भप्रति गरिएको धोकेको रूपमा व्याख्या गरेका छन्।
बजेटले गर्दा सञ्चार क्षेत्र कमजोर हुने र लोकतान्त्रिक प्रक्रियामा नै प्रहार हुने चासो व्यक्त गर्दै संघहरूले मुख्यमन्त्री लामा र सम्बन्धित मन्त्रीहरूलाई तत्काल बजेट संशोधन गरी सञ्चारमैत्री बनाउन जोडदार माग गरेका छन्। साथै उनीहरूले सरोकारी विपक्षी दलहरूलाई पनि यस विषयमा दबाब बढाउन आह्वान गरेका छन्। “सञ्चार क्षेत्रलाई निषेध गरी बजेट पारित गरियो भने, प्रदेश सरकारले गर्ने सम्पूर्ण गतिविधिहरू सञ्चारमाध्यममा प्रकाशन/प्रसारण नगर्ने सम्मको संघर्षमा उत्रन बाध्य हुनेछौं।” ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, नेपाल प्रेस युनियनका उपाध्यक्ष सुजन विडारी, प्रेस चौतारी नेपालका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर नेपालका अध्यक्ष ध्रुव अधिकारी, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष नक्रराज छत्कुली, फोनिजका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, बानका अध्यक्ष गंगा पौडेल, सामुदायिक रेडियो प्रसारक संघका कोषाध्यक्ष दानबहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघका उपमहासचिव प्रेश श्रेष्ठ, सञ्चारिका समूहकी महासचिव नानीमाया सापकोटा र राष्ट्रिय फोटो पत्रकार संघका सचिव कुमार श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij