हेटौँडा : नेपाल स्पोर्ट सेन्टर नेकोसले राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गरी नेकोसले शनिवारदेखि बृहत् नेकोस खेलकुद महोत्सव अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
नेपालको खेल क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको दुवै प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगितालाई नेपाल स्पोर्ट सेन्टर आफैले र स्केटिङ प्रतियोगितालाई नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले संयोजन गर्ने नेकोसका अध्यक्ष अनिल कुमार रिजालले जनाए । रिजालका अनुसार लिग कप नकआउट अन्तर्गत भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डाइमण्ड युथ स्पोट्र्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका गरी ६ वटा महिला खेलाडी टोली सहभागी हुनेछन् ।
त्यस्तै स्केटबोर्ड प्रतियोगितामा देशभरका १२ वर्षमुनिका महिला र पुरुष तथा १२ वर्षमाथिका महिला र पुरुष गरी ४ विधामा १५० जना खेलाडीको सहभागिता रहनेछ ।
महिला भलिबलको असार ७ गते शनिबार दिउँसो ३ बजे हुप्राचौरस्थित भलिबल ट्रेनिङ सेन्टरमा र स्केटबोर्ड असार ८ गते आइतबार बिहान ७ बजे हेटौँडा स्थित पुष्पलाल रोडको स्केटिङ पार्कममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाबाट उद्घाटन गरिनेछ ।
महिला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ लाख, द्वितीय ३ लाख, तृतीय १ लाख, सान्त्वना ५१ हजार रहनेछ । त्यस्तै प्रत्येक खेल विधामा नगद ५ हजार प्रदान गरिनेछ ।
त्यस्तै स्केटबोर्ड प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार रहेको छ । अध्यक्ष रिजालका अनुसार दुवै प्रतियोगितामा करिब ८० लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको समापन समारोह असार ११ गते हेटौँडाको हुप्राचौरमा हुने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij