भरतपुर : चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा शुक्रबार सम्पन्न अन्तरविद्यालय शिक्षक पौडी प्रतियोगितामा अङ्कुरम् एकेडेमीका कपिलदेव वाग्ले र सनराइज इङ्लिस स्कुलकी रीता कंडेलले प्रथम स्थान हासिल गरेका छन् ।
शनिबार अङ्कुरम् एकेडेमीको ‘स्विमिङ पुल’मा पुरुषतर्फ ‘डबल ल्याप’ र महिलातर्फ ‘सिङ्गल ल्यापमा’ सञ्चालन गरिएको प्रतियोगितामा अङ्कुरम्का कपिलदेव वाग्लेले ३३ सेकेन्ड ०५ मिलिसेकेन्डमा ५० मिटरको दुरी पार गर्दै पुरुषतर्फको प्रथम स्थान हासिल गरेका हुन् । त्यसैगरी महिलातर्फ ‘सिङ्गल ल्याप’मा सञ्चालित प्रतियोगितामा सनसाइजकी रीता कंडेललले ३५ सेकेन्ड ९१ मिलिसेकेन्डमा २५ मिटरको दुरी पार गर्दै प्रथम भइन् ।
पुरुषतर्फ लोटस एकेडेमीका सोमबहादुर गुरुङले ४४ सेकेन्ड ८८ मिलिसेकेन्डमा सो दुरी पार गर्दै द्वितीय स्थान हासिल गरे भने सनराइजका रामबहादुर रामजीले ४५ सेकेन्ड ४७ मिलिसेकेन्डमा उक्त दुरी पार गरी तेस्रो स्थान हासिल गरे । त्यसैगरी महिलातर्फ बेबीलोन इङ्गलिस स्कुलकी सोबिता दानी ४३ सेकेन्ड ७५ मिलिसेकेन्डमा २५ मिटरको दुरी पार गर्दै दोस्रोे भइन् । प्रतियोगितामा १५ जना पुरुष दुई जना महिला गरी १७ जना प्रतियोगीले भाग लिएका थिए । बिजेताहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
भरतपुरमै विश्वस्तरीय शिक्षासहित अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै आएको अङ्कुुरम् एकेडेमीको उक्त ‘स्विमिङ पुल’ ‘ओलम्पिक स्ट्याण्डर्ड स्विमिङ पुल’ रहेको तह प्रमुख तथा कार्यक्रम संयोजक अर्जुन जी शर्माले जानकारी दिए । विद्यालयका प्राचार्य सुमन पौडेलले स्वागत गरेको कार्यक्रममा विजेता खेलाडीहरूलाई उनले पुरस्कार तथा प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । कार्यक्रम संयोजक शर्माले नियमहरूको बारेमा जानकारी गराएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij