नुवाकोट : किसानहरूलाई आधुनिक यन्त्र तथा औजारमार्फत कृषिमा उत्पादन बढोत्तरी गर्ने उद्देश्यले नुवाकोटमा किसानहरूलाई विभिन्न आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको छ । धान, तरकारी, आलु खेती गरिरहेका किसानहरूलाई विशेष ग्राह्यता दिइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय नुवाकोटले कृषि समूह, कृषि फर्म तथा किसानहरूलाई विभिन्न १९ प्रकारका आधुनिक यन्त्र उपकरणहरू प्रदान गरेको हो । कार्यालयले धान, आलु र तरकारी जोन (क्षेत्र) वर्गीकरण गरी सो क्षेत्रभित्रका किसानहरूलाई उकपरणहरु प्रदान गरेको हो ।
यसबाट किसानहरू उत्पादन बढोत्तरीतर्फ केन्द्रित भएको कार्यालय प्रमुख रवीन्द्र पौडेलको भनाई छ । उनका अनुसार उपकरण माग गरेका किसान तथा फर्ममै पुगेर स्थलगत अनुगमन गरेर पहिचान गरी उपकरण दिने र अनुगमन कार्यलाई निरन्तरता दिने कार्यसमेत भइरहेको छ ।
जसअन्तर्गत बेलकोटगढी नगरपालिका १३ मादनपुरमा किसानहरूलाई आधुनिक कृषि उपकरण प्रदान गरिएको छ । कृषि प्रविधिसहितको टोलीले गाउँमै पुगेर किसान तथा कृषि समूहहरूलाई आधुनिक कृषि यन्त्र हस्तान्तरण गरेको कृषि प्राविधिक भुवन तिम्सिनाको भनाई छ ।
धान जोन अन्तर्गत रहेका किसान तथा कृषि समूहहरूलाई यस वर्ष पेट्रोल मिनिट्रिलर एक सय ९५ थान, डिजेल मिनिट्रिलर पाँच थान, पावर ट्रेलर १२ थान, स्प्रेयर दुई सय ५७ थान, पेडल थ्रेसर २० थान र कम्माइन मिल २२ थान हस्तान्तरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार धान जोनमा एक सय ६५ वटा कृषि फर्म तथा समूहमा एक हजार तीन सय ४४ जना सदस्य आबद्ध रहेका छन् ।
आलु जोनतर्फ एक सय ४६ थान मिनिट्रिलर र ८७ थान स्प्रेयर वितरण गरिएको कृषि प्राविधिक राजन डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार आलु जोनमा एक सय १८ वटा कृषि फर्म तथा समूहमा तीनहजार जना सदस्य आबद्ध रहेका छन् ।
नयाँ तरकारी जोनतर्फ ७० थान पेट्रोल मिनिट्रिलर, ६१ थान डिजेल मिनिट्रिलर, एक सय ४४ थान स्प्रेयर, चार थान पावर स्प्रेयर र २५ थान व्रस कटर प्रदान गरिएको छ । सो जोनमा एक सय ६ वटा कृषि फर्म तथा समूहमा तीन हजार नौ सय १० जना सदस्य आबद्ध रहेका छन् ।
उता, वाख्रा जोनतर्फ १७ थान घाँस मिलाउने मेशिन, चार थान दाना बनाउने मेशिन, ३३ थान मकै छोडाउने मेशिन, चार थान विक्स मिल घट्ट र आठ थान तराजु हस्तान्तर गरिएको छ । सो जोनमा एक सय ५७ वटा कृषि फर्म तथा समूहमा तीन हजार सदस्य आबद्ध रहेका छन् ।
धान जोनअन्तर्गत नुवाकोटको वेलकोटगढी नपा, लिखु, पञ्चकन्या, शिवपुरी, तादी गाँउपालिका, नयाँ तरकारी जोनमा किस्पाङ र म्यागङ गापा तथा वाख्रा जोनमा रसुवाको उत्तर गया, कालिका, नौ कुण्ड, गोसाईंकुण्ड र आमाछोदिङ्मो गाँउपालिका किसान, कृषि फर्म तथा कृषि समूह आबद्ध रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij