हालै डा. केशव श्रेष्ठले सामाजिक सञ्जालमा व्यक्त गरेको हृदयविदारक सन्देश र त्यसपछिको घटनाले हाम्रो समाज र राज्य संयन्त्रमा गहिरो घाउ देखाएको छ । कार्यस्थलमा भोगेको भनिएको चरम दुव्र्यवहार, भ्रष्टाचारको जालो र जवाफदेहिताविहीन प्रशासनको पीडाले एक समर्पित चिकित्सकलाई आत्महत्याको प्रयाससम्म पुर्याउनुले हामी सबैलाई झस्काएको छ । यो एक व्यक्तिको निजी पीडा मात्र होइन बरु हाम्रो प्रणालीगत कमजोरी, मानसिक स्वास्थ्यप्रतिको उपेक्षा र सामाजिक सञ्जालको असंवेदनशील प्रयोगको ज्वलन्त उदाहरण हो । यो घटनाले हामीलाई गम्भीर आत्मसमीक्षा गर्न र अगाडिको बाटो खोज्न बाध्य बनाएको छ ।
डा. श्रेष्ठको कथा सुन्दा जो कोहीको मन रुन्छ । आमाको अथक् संघर्षबाट डाक्टर बनेका उनले नेपाल प्रहरी हुँदै बागमती प्रदेश लोकसेवा आयोगबाट नाम निकालेर सार्वजनिक सेवामा प्रवेश गरेका रहेछन् । रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा २५ महिना सेवा गर्दा १८ महिना नेतृत्व सम्हालेको र अस्पताललाई देशकै उत्कृष्टमध्ये एक बनाउन दिन–रात खटेको उनको भनाइ छ । आफूले अस्पतालमा सुशासन कायम गर्न र अनियमितता रोक्न खोज्दा कामचोर, ठग र प्रणालीमा नबस्ने कर्मचारीहरूलाई भागाभाग बनाएकामा उनी गर्व गर्छन्; यही इमानदारिता र कर्तव्यनिष्ठा नै उनका लागि अभिशाप बन्यो ।
उनको आरोप छ कि रामेछाप अस्पतालबाट सरुवा भएका डा. गगन अधिकारी र रामेछाप– ८ का केदार कार्कीले आफूविरुद्ध झुटा आरोपहरूको तानाबाना बुने । केदार कार्कीले पैसा मागेको र उनैले भनेको कार्यालय सहयोगीलाई जागिर नदिएको झोँकमा उनकै नेतृत्वमा आफूमाथि षड्यन्त्र रचिएको श्रेष्ठको दाबी छ । एप्रन नलगाएको विषयमा प्रश्न गर्दा एक डाक्टरले मुखमुखै लागेको र सोही दिन केदार कार्कीलाई बोलाएर आफ्नो कार्यकक्षमा धम्की दिएको, हात हाल्न खोजेको र तीन दिनभित्र सरुवा नगरे आफ्नो नाम केदार होइन भनी चुनौती दिएको घटनाले कार्यस्थलमा कस्तो भयावह वातावरण थियो भन्ने देखाउँछ । केदारले भनेबमोजिम अस्पताल चलाउनुपर्ने, उनको होटलको बिल तिर्नुपर्ने र विज्ञापन गर्दा उनकै मान्छे राखिदिनुपर्ने दबाबले स्पष्ट पार्छ कि सार्वजनिक सेवामा राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले गहिरो गरी जरा गाडेको छ ।
डा. श्रेष्ठको सबैभन्दा ठुलो पीडा त यो थियो कि उनले आफ्नो कुरा राख्न खोज्दा स्वास्थ्य मन्त्रालयका मन्त्री र सचिव कसैले पनि सुनेनन् । १६ वटा टाँका लगाएको शरीर, श्रीमती र दुई वर्षकी छोरीसहित राति ९ बजे रामेछापबाट काठमाडौँ आउन बाध्य पारिनु र बिहान ४ बजे काठमाडौँ आइपुगेर ८ बजे फेरि हाजिर हुन हेटौँडा लाग्नुपर्ने अवस्थाले उनले भोगेको अमानवीय व्यवहारको पराकाष्ठा देखाउँछ । नयाँ निमित्त मेसुलाई हाजिर गराउन सीडीओ कार्यालयमा फोन गर्ने मन्त्रालयले उनको सुरक्षाका लागि किन चासो देखाएन भन्ने उनको प्रश्नले राज्यको संवेदनहीनतामाथि प्रश्नचिह्न खडा गर्छ । स्वास्थ्य मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानवीय व्यवहार गरेको, बर–बुझार्थ केही नगरी गाडी खोसेको र अलपत्र पारेको उनको आरोपले सार्वजनिक प्रशासनमा व्याप्त बेथिति र जवाफदेहिताको अभावलाई छर्लङ्ग पार्छ । डा. नरेन्द्र झा र रेवती थापाको आर्थिक चलखेलमा आफूलाई सरुवा गरिएको उनको दाबीले भ्रष्टाचारको जालो कति बलियो छ भन्ने देखाउँछ ।
एप्रन नलगाएको विषयमा प्रश्न गर्दा एक डाक्टरले मुखमुखै लागेको र सोही दिन केदार कार्कीलाई बोलाएर आफ्नो कार्यकक्षमा धम्की दिएको, हात हाल्न खोजेको र तीन दिनभित्र सरुवा नगरे आफ्नो नाम केदार होइन भनी चुनौती दिएको घटनाले कार्यस्थलमा कस्तो भयावह वातावरण थियो भन्ने देखाउँछ ।‘म मानसिक रूपमा कमजोर हुन पुगेँ, अहिले विक्षिप्त हुन पुगेको छु’ भन्ने डा. श्रेष्ठको भनाइले कार्यस्थलको तनाव र प्रणालीगत असफलताले निम्त्याउने गम्भीर मानसिक पीडालाई दर्शाउँछ । नेपालमा मानसिक स्वास्थ्य सेवा अझै पनि उपेक्षित क्षेत्र हो, विशेष गरी ग्रामीण भेगमा यसको पहुँच अत्यन्तै सीमित छ । सामाजिक लाजलज्जा, पूर्वाग्रह र गलत धारणाहरूका कारण धेरै मानिस आफ्नो मानसिक समस्या लुकाउँछन् र उपचार खोज्न हिचकिचाउँछन्, जसले समस्यालाई झन् जटिल बनाउँछ । मानसिक रोगका कारण करिब ६७ प्रतिशत आत्महत्याका घटना हुने गरेको तथ्याङ्कले यो गम्भीर समस्यालाई औँल्याउँछ । डा. श्रेष्ठको घटनाले कार्यस्थलमा मानसिक स्वास्थ्यको सुरक्षाका लागि कडा नीति र सहयोग प्रणालीको आवश्यकतालाई जोड दिएको छ ।
सामाजिक सञ्जाल आधुनिक समाजको अभिन्न अंग बनेको छ, जसले डा. श्रेष्ठको मार्मिक पुकारलाई सार्वजनिक ध्यानमा ल्याउन र उनको सकुशल उद्धारमा समेत महत्त्वपूर्ण भूमिका खेल्यो । यो यसको सकारात्मक पक्ष हो, जहाँ सूचनाको द्रूत प्रवाहले जीवन बचाउन सक्छ तर उनको सकुशल प्राप्तिपछि सामाजिक सञ्जालमा देखिएको ‘ट्रोलिङ’को लहरले हामीलाई स्तब्ध बनाएको छ । विषयवस्तुको गाम्भीर्यतालाई बुझेर संवेदनशीलता देखाउनुको सट्टा, उडाउने र खिसीट्युरी गर्ने प्रवृत्तिले हाम्रो सामाजिक चेतनाको स्तर कति दयालाग्दो छ भन्ने पुष्टि गर्छ । यो निन्दनीय व्यवहारले मानसिक पीडामा रहेका व्यक्तिलाई थप चोट पुर्याउँछ र साइबरबुलिङको भयावह रूपलाई उजागर गर्छ । झुटा सूचना, अफवाह र चरित्र हत्याले मानसिक हिंसा र सामाजिक बहिष्कार निम्त्याउँछ; जसले पीडितको मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पार्छ । आत्महत्याजस्ता संवेदनशील विषयमा समाचार रिपोर्टिङ गर्दा अन्तर्राष्ट्रिय नैतिक दिशानिर्देशहरूको पालना नगर्नु र सनसनीपूर्ण प्रस्तुति दिनुले जनस्वास्थ्यका लागि गम्भीर जोखिम निम्त्याउँछ, किनकि यसले अनुकरण गर्ने प्रवृत्तिलाई बढावा दिन सक्छ ।
डा. केशव श्रेष्ठको यो मार्मिक घटनाले हामीलाई धेरै पाठ सिकाएको छ । अब राज्यले ढिलाइ गर्नु हुँदैन । उनको आरोपमाथि तत्काल, स्वतन्त्र र पारदर्शी छानबिन गरिनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ । सार्वजनिक प्रशासनमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिक हस्तक्षेप रोक्नका लागि नीतिगत र व्यावहारिक सुधारहरू अपरिहार्य छन् । इमानदार कर्मचारीलाई संरक्षण गर्ने र सूचनादातालाई प्रोत्साहन गर्ने कानुन तत्काल आवश्यक छ ।
यसका साथै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्दै यसको सेवा विस्तार गरिनुपर्छ । कार्यस्थलमा हुने सबै प्रकारका दुव्र्यवहारविरुद्ध कडा नीति र कार्यान्वयन संयन्त्र आवश्यक छ । सञ्चारमाध्यम र सर्वसाधारणले आत्महत्या र मानसिक स्वास्थ्यसम्बन्धी समाचार रिपोर्टिङ गर्दा नैतिक दिशानिर्देशहरूको पालना गर्नुपर्छ । सामाजिक सञ्जालमा समानुभूतिपूर्ण र जिम्मेवार व्यवहार अपनाउनु आजको आवश्यकता हो ।
डा. श्रेष्ठको पीडालाई केवल एक व्यक्तिको समस्याका रूपमा मात्र नहेरी यसलाई समग्र प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ । हामी सबैको दायित्व हो कि यस्तो घटना फेरि नदोहोरियोस् । न्यायपूर्ण, जवाफदेही र सहानुभूतिपूर्ण समाज निर्माणका लागि आजैबाट हातेमालो गरौँ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij