Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

सम्भावना भएर पनि ओझेलमा माडीको दुरा सामुदायिक होमस्टे

सम्भावना भएर पनि ओझेलमा माडीको दुरा सामुदायिक होमस्टे

माडी : माडी–९ गोविन्दबस्ती, बगहीमा रहेको दुरा सामुदायिक होमस्टे प्राकृतिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको छ । निरन्तर ओझेलमा रहेको बस्ती भने पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको हो ।

अहिले सुरूवातमा सातवटा होमस्टे सञ्चालन गरिएको भए पनि आवश्यकताका आधारमा क्रमिकरुपमा होमस्टेहरु थप गर्दै लगिने बताउँछन्, होमस्टे अध्यक्ष कुलबहादुर दुरा । उनका अनुसार पर्यटकको स्वागतसत्कार, गाउँमै अर्गानिक खाद्यको उत्पादन, आरामदायक कोठा, शौचालय, स्नानगृह तयार पारिएको छ । ‘२१ जनासम्मलाई सुविधासहित बसाउन सक्छौँ’, उनले भने । गाउँमा आउने पाहुना तथा पर्यटकलाई दुरा जातिको रीति, संस्कृतिअनुसार कन्याले दही–चामलको टीका, फूलमाला वा गाउँमै तयार पारिएको फूलको बुकी दिएर स्वागत गर्ने गरिएको अध्यक्ष दुरा बताउँछन् ।

आदिकालदेखि नै बसोवास गर्दै आएको, आफ्नै भाषा र संस्कृति भएको र त्यसलाई बिस्तारै भुल्दै गएको नेपालको एक अल्पसंख्यक दुरा जातिको मुख्य बसोवास भने लमजुङको दुराडाँडा क्षेत्र नै हो । अल्पसंख्यक आदिवासी दुरा समुदाय संस्कृतिका धनी छन् । अझै पनि आफ्नो मौलिक संस्कृतिलाई बचाएर राखेका छन् । गाउँको होमस्टेमा आउने पाहुनालाई उनीहरु गोलघर र सांस्कृतिक भवनमा कार्यक्रमहरु देखाएर मनोरञ्जन दिन्छन् ।

दुराडाँडाको पहिचानको रुपमा ठाडोभाका रहेको छ । दुराडाँडाकै गायक स्व. देउबहादुर दुराले प्रतिपादन गरेको ठाडोभाका राष्ट्रियरुपमा पनि चर्चित छ । पछि त्यही भाकालाई पञ्चखेर गुरूङलगायतले फैलाएको बताइन्छ । त्यहीँबाट बसाइ सरेर माडीमा बसोवास गरेको अध्यक्ष कुलबहादुर बताउँछन् ।

त्यसै गरेर अन्य सांस्कृतिक अवयवहरुमा घाटु, सोरठी, दोहोरी, झ्याउरेलगायत रहेका छन् । बाह्रमासे र कुसुन्डा घाटुलाई छोटो संस्करण बनाएर पाहुनालाई देखाउने गरिन्छ । त्यस्तै, सोरठी र झ्याउरे पनि देखाउने गरिएको छ । यसको साथमा आमा समूहको नाचले पाहुनाहरुलाई समेत नचाउँछ । हराउँदै गएको दुरा समुदायको मौलिक कला, परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यसहित होमस्टे सञ्चालन तथा संस्कृतिको जगेर्नामा जुटेको दुरा होमस्टे सञ्चालक समितिका अध्यक्ष कुलबहादुर बताउँछन् ।

१ नम्बर होमस्टे मोती दुरा, २ नम्बर अजमाया दुरा, ३ नम्बर शोभाकुमारी दुरा, ४ नम्बर नारायणी अधिकारी, ५ नम्बर विमला दुरा, ६ माइतादेवी दुरा र ७ नम्बर होमस्टे देवीमाया दुराले सञ्चालन गरेका छन् । होमस्टेमा माडी नगरपालिकाले ४ लाख ५० हजार सहयोग गरेको र अरु सञ्चालककै लगानी रहेको छ । शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन होमस्टे खचाखच भरिन्छन् । पारिवारिक जमघटदेखि साना–ठूला बैठक पनि होमस्टेमा भइरहन्छन् ।

त्यसैगरी, होमस्टे सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबाट सहयोग प्राप्त भएको जानकारी दिँदै सचिव श्याम दुराले दुरा जातिको संस्कृति प्रदर्शन गर्नका लागि गोलघर र सांस्कृतिक भवन निर्माण गरिएको बताए । समुदायको देउसीभैलो तथा सहयोग सङ्कलन तथा नगरपालिकाको तीन लाख सहयोगमा दुरा कल्चर हाउस बनाइएको उनले बताए ।

दुरा समुदायमा प्रचलित सोरठी, सती घाटु, कृष्णचरित्र आदि जस्ता सांस्कृतिक सम्पदा गुरूङ तथा मगर समुदायमा पनि प्रचलित छ । गाउँ बार्ने, गुरूबाउ मान्ने, रोदी बस्ने, रोदीआमा मान्ने, माइती राख्ने, रिसियाँ खाने, ख्वाइ खाने, गाउँका तन्नेरीले एकअर्काको सियो राख्ने, लोबारे खाने, दशाग्रह हेर्ने, गुहार, पर्म, झारा, तुर्लुङकोट मौलामा फूलपाती भिœयाउनेलगायतका चलन भेटिने उनी बताउँछन् ।

माडीका दुरा होमस्टेहरुमा स्थानीय उत्पादनबाट बनेको नेपाली खानाको स्वाद पाइन्छ । त्यहीँ उत्पादन भएका धानको भात, तरकारी, दालका साथै अन्य परिकारहरु पनि स्थानीय उत्पादनबाटै बनाइन्छ । खाजा वा नास्ताको रुपमा सेलरोटी, तरकारी, भुटेको मकै, भटमासलगायत उपलब्ध हुन्छ । त्यसरी नै लोकल कुखुराको मासु, कोदोको ढिँडो, जंगली निगुरोको सब्जी, गुन्द्रुक र सिन्कीको अचारले मुख रसाउँछ । मौसमअनुसारका फलफूलहरु पनि पाइन्छन् । गाईभैँसीका दूध, मोही, घिउ तथा स्थानीयरुपमै उत्पादित महको स्वाद पनि लिन पाइने दुरा होमस्टे सञ्चालक समितिका सचिव श्याम दुरा बताउँछन् ।

दुरा समुदायमा परम्परागत ज्ञान र सीप समयको प्रवाहसँगै तीव्र गतिमा लोप हुने क्रममा रहेको होमस्टे सञ्चालिका शोभाकुमारी दुरा बताउँछिन् । यहाँ आएपछि माडीका धार्मिक एवं पर्यटकीयस्थलहरु अयोध्याधाम, रामसीता गुफा, वैकुण्ठधाम र हनुमानटार हरियाली जंगलसँगै रमणीय वातावरण अवलोकन गर्न सकिनेछ ।

चितवनको सदरमुकाम भरतपुरदेखि करिब ४५ किलोमिटर दक्षिणमा पर्ने माडी पर्यटनको प्रशस्त सम्भावना बोकेको मह¤वपूर्ण गन्तव्य हो । धार्मिक, जैविक विविधता एवं आदिवासी समुदायको कला–संस्कृतिले माडीमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij