Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट

सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रलाई कस्तो प्राथमिकता दिएको हो भन्नेमा स्पष्टता देखिएको छैन । सरकारले प्रस्तुत गरेको बजेट पुस्तिकामा स्वास्थ्यसम्बन्धी अधिकांश शीर्षकहरूमा स्पष्ट रकम उल्लेख नगरिएको देखिएको हो।

प्रत्येक शीर्षकअन्तर्गत आवश्यक विनियोजन मात्र लेखिएको हुँदा कुन कार्यक्रमका लागि कति बजेट छुट्ट्याइएको हो भन्ने बुझ्न सकिँदैन। स्वास्थ्य पूर्वाधार, जनस्वास्थ्य सेवा, औषधि आपूर्ति, र मानव संसाधन व्यवस्थापनजस्ता महत्त्वपूर्ण कार्यक्रमहरूको लागत विवरण नखुलाइएकाले बजेटको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठेका छन्।

नीतिगत तहमा उल्लेख गरिएका योजनाहरूका लागि रकमको स्पष्ट अभाव हुनु या त तयारीको कमजोरी जनाउँछ, वा कार्यान्वयनतर्फ सरकार अझै अलमलमा रहेको संकेत हो भन्ने टिप्पणीहरू आएका छन्। चिकित्सक, स्वास्थ्यकर्मी र विश्लेषकहरूले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको दाबी साँचो हो कि होइन भन्ने मूल्याङ्कन गर्न यथेष्ट जानकारी नपाएको बताइरहेका छन्। डाक्टर अमृत जैशीले भने, ‘सबै शीर्षकमा 'आवश्यक विनियोजन' मात्र लेखेर छाड्नु गम्भीर लापरबाही हो। यस्तो शैलीले आगामी योजनाहरू कार्यान्वयनमा पनि असर पार्न सक्छ।’

यसपटकको बजेटमा शिक्षा र पूर्वाधार क्षेत्रमा केही योजनाहरूलाई स्पष्ट रकमसहित प्रस्तुत गरिए पनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो अस्पष्टता देखिनु प्रदेश सरकारको तयारीमाथि नै प्रश्न उठाउने विषय बनेको छ। आगामी दिनमा सरकारबाट यस्ता अस्पष्ट शीर्षकहरूलाई स्पष्ट पार्ने र योजनाहरूको बजेट विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij