झापा : यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ ।पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रङ्गको कछुवा फेला पार्नुभएको हो ।
उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिनुभयो । पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो कछुवा नेपालका केही तराई क्षेत्रमा करिब ४०० मिटर उचाइसम्म पाइने उहाँले बताउनुभयो ।
“यो कछुवाको ‘क्रोमेटिक ल्युसिज्म’ दुर्लभ रूप (पहेंलो) नेपालमा दोस्रो पटक अभिलेख हुन सक्छ”, उहाँले भन्नुभयो, “यसअघि जनकपुरमा यसको अभिलेख गरिएको थियो ।”यस्ता कछुवा विरलै देखिने भएकाले संरक्षणका दृष्टिकोणले विशेष महत्व रहेको उहाँको भनाइ छ । कछुवा जलथल सब–डिभिजन वन कार्यालय रंगियाडाँडाका कर्मचारीलाई जिम्मा लगाइएको वन समूहका सहसचिव भरत ढकालले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij