स्पेन : स्पेनस्थित आलिकान्तेको बेमिड्रोममा जारी राहदानी घुम्ती शिविरममा एकै दिन १ सय ७५ जनाले सेवा लिएका छन् । नेपाली राजदूतावास म्याड्रीड स्पेनको आयोजना, राहदानी विभागको समन्वय तथा नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङकाको सहजीकरणमा २ दिने घुम्ती शिविर गरिएको हो ।
राहदानी नविकरण तथा नयाँ बनाउन लामो दुरी यात्रा गरेर म्याड्रिड पुग्नुपर्ने बाध्यता रहेको थियो । राजदूतावासले शिविरको माग बढेपछि कोष्टाव्लाङ्का आसपास बस्ने नेपालीलाई लक्षित गरि शिविर गरेको हो । दोस्रो दिन जुन १५ गते बिहानै ८ बजेदेखि शिविर पुन सञ्चालन हुनेछ ।
समाजका सचिव असिम लोप्चनले पहिलो दिन छुटेका, अनलाइन फारम भरेर पनि सूचिमा छुटेका सबैले आवश्यक सम्पूर्ण कागजात सहित भोली आइतवार ८ बजे देखि उपस्थित भएमा सेवा लिन सक्ने बताए । शिविरका लागि २ वटा स्टल मार्फत बायोमेट्रिक दिने व्यवस्था मिलाइएको छ ।

सहजिकरणका लागि हेल्प डेस्क पनि राखिएको छ । राजदूतावासका द्वितीय सचिव पुरक अधिकारीले उल्लेख्य सहभागीता रहेको बताए । शिविरका लागि पुरक अधिकारी सहित लक्ष्मण शर्मा, ज्योत्सना काफ्ले, विपिन चन्दको टोलि अघिल्लो दिननै बेनिड्रोम आइपुगेको थियो ।
एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेलले शिविरलाई सुव्यवस्थित बनाउदै सहज वातावरणमा सेवा लिन पाउँदा नेपालीहरु खुशी बनेको बताए । उनका अनुसार कागजात रुजु गरेर बायोमेट्रिक लिदा बढीमा ५-६ मिनेट लागेको थियो । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका अध्यक्ष केसरबहादुर थापाले शिविर आयोजना गरेकोमा दूतावासलाई धन्यवाद दिए ।
एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यले बर्षौँदेखि राहदानी सेवा लिन नपाएका अधिकाँस लाभान्वित बनेको बताए । दूतावासले सन् २०२५ मा मात्रै ५ ठाउँमा घुम्ती शिविर गरिसकेको छ ।

शिविरका लागि राखिएको हेल्प डेस्कमा समाजका निवर्तमान प्रवक्ता घनश्याम गौतम, निवर्तमान महासचिव दुर्गा भण्डारी, वर्तमान महासचिव विजय कुँवर, एनआरएनए क्षेत्रीय कोष्टाव्लाङ्काको सचिव सुबास ओली, समाजका उपाध्यक्ष सबिता पाठक, मोती सागर पुन, एनआरएनए स्पेनको क्षेत्रगत सचिव सन्तोष अर्याल, समाजका सदस्य (स्वयंसेवक) सोनल पुन लगायत समाजका वरिष्ठ व्यक्तिहरू टोलिमा खटिएको थियो ।
समाजका सल्लाहकार द्वारिका लामिछाने, मुकुन्द लामिछाने, संरक्षक रितेश श्रेष्ठ, एनआरएनए कोष्टाव्लाङ्काका पूर्वअध्यक्ष देवराज सापकोटा लगायतले नेपालीहरुको वस्तुस्थिति बारे जानकारी लिएका थिए ।
सगरमाथा सफल आरोहण गरि स्पेन फर्केका समाजका पूर्व अध्यक्ष तथा संरक्षक अक्कल बहादुर बोहराले स्पेन ठूलो देश भएकाले बेलाबखत ठाउँ-ठाउँमा घुम्ती शिविर गर्न सुझाए ।
स्पेनस्थित दूतावासबाट हाल दैनिक सरदर १५ जनाले सेवा लिदै आएका छन् । पोर्चुगलको लिस्वन स्थित दूतावासबाट सेवा सुरु हुन थालेपछि स्पेनको दूतावासमा चाप विस्तारै घटेको छ । तर स्पेनले माल्टामा रहेका नेपालीलाई समेत राहदानी सेवा दिदै आएको छ ।
कास्पेदेखि राहदानी बनाउन आएका नवराज घिसिङले नजिकै छिटो छरितो सेवा पाउँदा खुशी बने । बेनिड्रोम बस्दै आएका वीरेन्द्र श्रेष्ठले शिविर नेपालीहरुका लागि उत्सव बनेको प्रतिक्रिया दिए । डा. बृहस्पति पाठकले शिविरमा नेपालीहरुका भोगाईबारे जान्ने बुझ्ने मौका समेत साटासाट भएको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij