विराटनगर : अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, आत्मनिर्भरता र सामाजिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले 'प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम' आगामी असार २० र २१ गते विराटनगरमा आयोजना हुने भएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा करुणा फाउण्डेसन नेपाल, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, निक्षेप तथा कर्जा सुरक्षण कोष, उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायत संस्थाहरूको सहकार्यमा कार्यक्रम सञ्चालन हुन लागेको हो।
कार्यक्रमले गायन, नृत्य, अभिनय, साहित्य, वक्तृत्वकला, चित्रकला, हस्तकला, नवप्रवर्द्धन लगायतका विभिन्न विधामा अपाङ्गता भएका व्यक्तिहरूमा निहित प्रतिभालाई पहिचान गर्दै व्यवसायिक प्रवर्द्धनमार्फत आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। यसले उनीहरूलाई समाजमा आत्मसम्मानका साथ स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेश अध्यक्ष नविनचन्द्र ढुंगेलका अनुसार सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरू र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, सामाजिक सहभागिता र सशक्तिकरणका क्षेत्रमा निरन्तर काम भइरहेको छ।
कार्यक्रमका लागि २१४ जना अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न विधामा आवेदन दिएका थिए। उनीहरूले आफ्नो विवरणसहित पठाएको भिडियोको आधारमा छनौट समितिले गायनमा ३३, नृत्यमा ११, अभिनयमा ३, साहित्यमा १६, वक्तृत्वकलामा २, चित्रकलामा ११, हस्तकलामा १०, नवप्रवर्द्धनमा १ र कार्यक्रम सञ्चालनमा १ जना गरी कुल ८८ जनालाई दोस्रो चरणका लागि छनोट गरेको छ।
छनोट भएका सहभागीहरूलाई असार १६ देखि १९ गतेसम्म विधागत प्रशिक्षकहरूबाट प्रशिक्षण तथा अभ्यास गराइनेछ। प्रशिक्षणपछि उत्कृष्ट प्रतिभाहरूलाई फाइनल प्रतिस्पर्धामा सहभागि गराइने जानकारी करुणा फाउण्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरेले दिए । कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरू निर्णायकको रूपमा रहनेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij