कास्की : प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा जेठ २७ गतेदेखि सञ्चालन हुने भएको छ। आयोजक नेशनल स्पोर्ट्स एकेडेमीले बुधबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो।
राष्ट्रिय स्तरका शीर्ष ६ महिला टिमलाई समावेश गरेर आयोजना गर्न लागिएको प्रतियोगिता जेठ ३१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा तीन विभागीय टिम—पुलिस, एपीएफ र आर्मी—साथै गण्डकी प्रदेश, एभरेष्ट एकेडेमी र न्यू डामन एकेडेमीले सहभागिता जनाउने छन्।
राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागत उत्कृष्ट खेलाडीहरूले जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगितामा सहभागी खेलाडीहरूको यातायात तथा बसोबासको व्यवस्था आयोजकले गर्ने जनाएको छ।
पत्रकार सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वालाले नेपालको लोकप्रिय खेलको रूपमा रहेको भलिबलको विकासमा इँटा थप्ने प्रयासस्वरूप प्रतियोगिताको सुरुआत गरिएको बताए। उनका अनुसार आगामी दिनमा प्रतियोगितालाई थप फराकिलो बनाउँदै लैजाने लक्ष्य राखिएको छ।
आयोजक नेशनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोईरालाले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न उल्लेखनीय भूमिका खेलेको स्मरण गर्दै सो घोषणाको सम्मानमा भलिबल प्रतियोगिता अघि सारिएको बताए।
‘तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको अवसरमा हामीले यो प्रतियोगिता सुरु गरेका हौं,’ कोईरालाले भने, ‘गणतन्त्र, प्रचण्ड र भलिबलबीचको संयोजनको रूपमा कार्यक्रमलाई अघि सारेका छौं।’कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यद्वय अन्जन धमला र सम्राट कुसारी, नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ लगायतको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij