झरीको समयमा मानिसहरूले फरक-फरक भावनाहरू अनुभव गर्छन् । कसैलाई झरीले उदास बनाउँछ भने कसैलाई रोमाञ्चक र आनन्दित बनाउँछ। वर्षाका थोपाहरू विभिन्न ठाउँमा टक्राउँदा आउने एक खालको आवाज, पानीका थोपाहरूको स्पर्श र वातावरणको शीतलताले मानिसको मनमा एक विशेष अनुभूति जगाउँछ।
यो रोमाञ्चक अनुभवका पछाडि वैज्ञानिक कारणहरू के हुन सक्छन् ?
१.प्रकृतिसँगको सम्बन्ध
मानिसहरू प्रकृतिसँग गहिरो रूपमा जोडिएका हुन्छन्, जसलाई बायोफिलिया हाइपोथेसिस ले व्याख्या गर्छ। यो सिद्धान्तअनुसार मानिसहरू प्राकृतिक तत्वहरूसँग जोडिन रमाउँछन्, किनभने हाम्रो विकास प्राकृतिक वातावरणमा भएको हो। झरीले प्राकृतिक वातावरणलाई ताजा र जीवन्त बनाउँछ, जसले मानिसको मनमा सकारात्मक भावनाहरू उत्पन्न गर्छ । वर्षाको पानी, हरियाली र शान्त वातावरणले तनाव कम गर्छ र मानसिक शान्ति प्रदान गर्छ।
२.भावनात्मक सम्झनाहरू
झरीले धेरै मानिसहरूमा बाल्यकालका सम्झनाहरू ताजा गर्छन् । पानीमा भिज्दै वनपाखा तथा बजारतिर डुलेका सम्झनाहरू हुन्छन् । पानीका डोबिल्काहरूमा हामफालेका । कुलो डोर्याउँदै साना गरा बनाएर रोपाइँ गरी खेलेका यादहरू झरीले सम्झना गराउन सक्छन् । यस्ता यादहरूले रोमाञ्चित बनाउन सक्छ । छुट्टै खालको आनन्दको महसुस गराउन सक्छ ।
मनोवैज्ञानिक अध्ययनहरूले देखाएका छन् यस्ता भावनाले डोपामाइन हर्मोनको स्रावलाई बढाउँछ, जसले आनन्द र रोमाञ्चक अनुभव गराउँछ। उदाहरणका लागि, २०१८ मा जर्नल अफ पर्सनालिटी तथा सामाजिक साइकोलोजीमा प्रकाशित एक अध्ययनले ‘नोस्टाल्जिया’ले मानिसको मूडलाई सुधार्ने र सकारात्मक भावनाहरूलाई प्रोत्साहन गर्ने कुरा पुष्टि गरेको छ।
३.इन्द्रीय उत्तेजना
झरीले हाम्रा इन्द्रीयहरूलाई उत्तेजित गर्छ। पानीका थोपा छालामा पर्ने अनुभव र माटोको सुगन्धले हाम्रा इन्द्रीयहरूलाई सन्तुष्ट बनाउँछ । माटोमा रहेका एक खालका ब्याक्टेरियाहरूबाट उत्पन्न हुने एक विशेष गन्ध ‘पेट्रिकोर’ले मानिसको मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । २०१५ मा नेचर माइक्रोबायोलोलीमा प्रकाशित एक अध्ययनले पेट्रिकोरको गन्धले तनाव कम गर्ने र मस्तिष्कमा सेरोटोनिनको स्तर बढाउने कुरा उल्लेख गरेको छ ।
४. तापक्रम र शारीरिक प्रतिक्रिया
झरीले वातावरणको तापक्रमलाई कम गर्छ, जसले शारीरिक रूपमा स्फूर्ति प्रदान गर्छ । गर्मीको समयमा, जब शरीर तातोबाट थकित हुन्छ, झरीको शीतलताले शरीरलाई राहत दिन्छ। यो शारीरिक राहतले मस्तिष्कमा एन्डोरफिन हर्मोनको स्रावलाई प्रोत्साहन गर्छ, जसले आनन्द र रोमाञ्चक अनुभव गराउँछ ।
५.मस्तिष्कको डोपामाइन प्रणाली
झरीको समयमा मानिसहरूले नयाँ अनुभवहरू जस्तै:- पानीमा खेल्ने, नाच्ने वा भिज्दै हिँड्ने गर्छन्। यी गतिविधिहरूले मस्तिष्कको डोपामाइन प्रणालीलाई सक्रिय बनाउँछ। डोपामाइन एक न्यूरोट्रान्समिटर हो जसले आनन्द, प्रेरणा, र रोमाञ्चक अनुभवहरूसँग सम्बन्धित छ । 2017 मा ‘न्युरोसाइन्स एण्ड बायोबिह्यविअरल रिभ्यूज’मा प्रकाशित एक अध्ययनले नयाँ अनुभवहरूले डोपामाइनको स्रावलाई बढाउने र सकारात्मक भावनाहरूलाई प्रोत्साहन गर्ने कुरा उल्लेख गरेको छ।
६ सामाजिक सम्बन्ध
झरीको समयमा मानिसहरू प्रायः परिवार वा साथीहरूसँग समय बिताउँछन्। घरमा बसेर चिया पिउने, कुराकानी गर्ने, वा सँगै झरीको मजा लिने गतिविधिहरूले सामाजिक बन्धनलाई बलियो बनाउँछ । सामाजिक अन्तरक्रियाले मस्तिष्कमा अक्सिटोसिन हर्मोनको स्रावलाई बढाउँछ, जसले प्रेम र खुशीको अनुभव गराउँछ।
७ सांस्कृतिक र साहित्यिक प्रभाव
धेरै संस्कृतिमा वर्षालाई रोमान्टिक र सौन्दर्यपूर्ण रूपमा चित्रण गरिन्छ। कविता, गीत र साहित्यमा वर्षालाई प्रेम, सौन्दर्य र जीवनको प्रतीकका रूपमा प्रस्तुत गरिन्छ। उदाहरणका लागि, नेपाली गीतहरू जस्तै ‘बादल, वर्षा पानी…, झमझम पानी पर्यो असारको रात… जस्ता धेरै गीतहरू छन् । यो सांस्कृतिक प्रभावले झरीप्रति सकारात्मक दृष्टिकोण बनाउँछ।
झरीको नकारात्मक प्रभाव
यद्यपि झरीले धेरैलाई रोमाञ्चक बनाउँछ, कतिपयलाई यसले उदास वा चिन्तित पनि बनाउन सक्छ। यो अवस्था सिजनल इफेक्टिभ डिसअर्डरसँग सम्बन्धित हुन सक्छ । जहाँ कम प्रकाश र चिसो मौसमले मूडलाई प्रभावित गर्छ। झरीसँगै आउने बाढी, पहिलो जस्ता विपत्तिको डर, झरीले आफ्नो पेशा तथा दैनिकीमा पार्ने असरका कारण मानिसको दिमागमा यसको नकारात्मक असर पनि परिरहेको हुन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij