काठमाडौँ : चैत महिना मूल्यवृद्धि झनै घटेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यो अवधिको वार्षिक विन्दुगत (अघिल्लो वर्षको चैतको तुलना) उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । फागुनसम्म यस्तो मुद्रास्फीति ३.७५ प्रतिशत रहेको राष्ट्र बैङ्कले उल्लेख गरेको थियो ।
त्यस्तै, अघिल्लो वर्ष चैतमा मुद्रास्फीति दर ४.६१ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासको ०.८९ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२५ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेस प्रदेशको ३.५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३।११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।
समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति क्षेत्रगत रूपमा सबैभन्दा कम देखिएको छ । २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij