बयलडाँडा चौतारी क्लवप्रति स्थापनाकालदेखि नै दिनप्रतिदिन युवा युवतीहरुको आकर्षण बढ्दै गइरहेको छ । घोराही बजार र आसपासबाट बिहानको मर्निङवाकपछि बयलडाँडामा जम्मा भई भलाकुसारीपछि सामान्य योग गर्ने, सुस्ताउने आदिपश्चात् क्यासेट बजाएर योग अभ्यासकै सिलसिलामा नाचगान समेत गर्ने नित्यकर्मजस्तै बनेको छ । बिहान ४ बजेदेखि नै घोरदौरा जाने उकालो बाटोको मध्ये भागमा बयलडाँडा भन्ने स्थानमा योग, ध्यान, भजन कीर्तन, नाचगानले गर्दा धेरैको आकर्षण बढ्दैछ । बयलडाँडाको अर्थ त्यहाँ धेरै हावा चल्ने हुँदा परापूर्वकालदेखि नै त्यस स्थानलाई बयलडाँडा भनिन्थ्यो । बयलको मतलव बतास धेरै चल्ने स्थान हो । यो थारु भाषा पनि हो । दशकौं अगाडि दाङ जिल्लामा थारु जातिको बाहुल्यता थियो । दाङ कोट गर्दा भारी बोक्ने क्रममा पहाडको उकालो चढ्दा सुस्ताउने स्थान बयलडाँडा नै थियो । किनभने त्यहाँ चिसो हावा चल्ने हुँदा थकाइको कम महसुस हुन्थ्यो होला । चिसो हावा पानीको प्रभावले पनि शरीरमा ऊर्जा थपिन्थ्यो नै । यसरी दशकौं अगाडिदेखि त्यो स्थान सबैको प्रिय थियो भने वर्तमानमा त बयलडाँडा चर्चित नै भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बापुर गाउँदेखि उत्तरपूर्वतर्फ घोरदौरा जाने बाटोमा बयलडाँडा पर्दछ । यो घोराही बजारबाट साढे तीन किलोमिटरको दूरीमा छ । अम्बापुर गाउँपछि घना जंगल हुँदै उकालो चढ्नुपर्छ । त्यसो त बञ्जाडेचोकदेखि कच्ची मोटर बाटो पनि छ तर मर्निङवाकका पारखीहरु ठाडै उकालो चढ्न रमाउँछन् । एक दशक पहिलासम्म घोराही बजार आसपासका गाउँतर्फ नै बिहान डुल्ने चलन थियो । क्रमशः बढ्दो सवारी साधनका चापले त्यसमा पनि टिप्परहरुको आतंकले गर्दा वैकल्पिक रुपमा नै बयलडाँडा चयन भएको थियो । थुप्रै साथीहरुको जमघट हुने एक आपसमा आत्मियता बढ्दै जाँदा नियमितता दिने उद्देश्यले बयलडाँडा चौतारी क्लव नाम दिई तीन वर्ष पहिले औपचारिकरुपमै संस्था गठन भएको हो । मर्निङवाकले शरीर र मनमस्तिष्कलाई चुस्त दुरुस्त राख्दै आलस्यपनका साथै ग्याष्ट्रिक, सुगर आदि सामान्य शुरुवातीका रोगहरुलाई प्रतिरोधात्मक शक्ति बढाउँदै आत्मविश्वास पैदा गर्नमा मद्दत पु¥याउँछ । यो एक प्रकारले विद्युतीय टर्च लाइटलाई चार्ज गरेपछि जसरी त्यो तरोताजा अवस्थामा रहन्छ त्यसैगरी मानिस पनि बिहानको हिंडाइले उसको दिनचर्यामा ताजगीपन पैदा भइरहेको महसुस हुन्छ ।
मर्निङवाकको वर्तमानमा आवश्यकता पनि बढ्दैछ । हामी वर्तमानमा भौतिक सुख, सुविधामा नै व्यस्त छौं । सानोतिनो शारीरिक श्रम पनि गर्नु पर्दैन, गर्दैनौं पनि । त्यसकारणले पनि शरीरलाई चलायमान पार्नुपर्ने हुन्छ । त्यसका लागि उत्तम उपाय मर्निङवाक नै हो । यसले शरीरका सम्पूर्ण भागलाई नै क्रियाशील बनाउँछ । कम्तिमा पनि बिहान शरीरबाट सामान्यतया हल्का फुल्का पसिना निकाल्नु राम्रो हो । आफ्नो क्षमता अनुसार आफूलाई अप्ठ्यारो महसुस नभएसम्म मर्निङवाकमा रमाउनु नै वेश हो । तर केही दीर्घरोगीहरुले त सामान्यतया चिकित्सकको सल्लाहमा चेकजाँच गर्दा नै राम्रो हुन्छ । मर्निङवाक अबको जीवनशैली सरह नै हुँदै गइरहेको छ । आफ्नो शरीरलाई चुस्त दुरुस्त राख्ने नै हो भने मर्निङवाकको अब विकल्प छैन भन्दा पनि अत्युक्ति नहोला । खानपानको लापरवाहीले पनि हाम्रो शरीरलाई क्रमशः कमजोर बनाइरहेको हुन्छ । फलफूल, सागपात साथै खाद्यपदार्थहरु दुग्धजन्य, माछामासु आदि नचाहँदा नचाहँदै पनि हामीले खानुको विकल्प छैन । अधिकांशमा कीटनाशक औषधिको मात्रा बढ्दो छ । रासायनिक मलखादको पनि अत्यधिक प्रयोगले गर्दा विषादीयुक्त जस्तै छन् । कृत्रिम आहार बिहारले पशुपंक्षीको मासु त्यस्तै दुग्धजन्य पदार्थमा पनि गुणस्तरमा ह्रास बढ्दो नै छ । उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, गेडागुडी, तेलहरुलाई तरोताजा राख्नलाई केमिकलको प्रयोग हुने गर्दछ । केमिकल प्रयोग नभए केही समयमा नै घुन पुत्लो लाग्छ । त्यसलाई बचाउन पनि केमिकलको मात्रा बढाइन्छ । यसको प्रयोग पनि मानिसको लागि हानिकारक नै हुन्छ । अन्य खानपिनका सरसामानहरु पनि गुणस्तरीय नहुने हुँदा शरीरको प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । अतः शरीरलाई निरोगीका साथै चुस्त दुरुस्त राख्नका लागि मर्निङवाक आवश्यक नै छ ।
बयलडाँडा चौतारी क्लवले मर्निङवाकको अभियानै चलाएको छ । समाजमा यसको सकारात्मक प्रभाव रहेको छ । प्रत्येकले आफ्नो क्षमता अनुसार हल्का या तेज रफ्तारमा हिंड्नु, दगुर्नु बयलडाँडा पुगेर सामूहिकरुपमा योगमा समावेश हुनु, भजन, कीर्तनमा रमाउँदै नाचगानमा भाग लिनुजस्ता दैनिकीलाई बढावा दिइरहेको अवस्था छ । यसबाट समाजमा स्वास्थ्यप्रतिको सजगतामा सकारात्मक सन्देश प्रवाह पनि भइरहेको छ । खास गरी सामाजिक सञ्जालबाट पोष्ट हुने दैनिकी कार्यक्रमहरुको गतिविधिले धेरैलाई लोभ्याउनुका साथै आफ्नो स्वास्थ्यप्रति पनि सजगता अपनाउनेतर्फ प्रेरित गरिरहेको छ । बयलडाँडा चौतारी क्लवले केही सामाजिक उत्तरदायित्व पनि वहन गरिरहेको छ । यो सकारात्मक पक्ष हो । त्यसै प्रकारले अब क्लवले स्वास्थ्यसम्बन्धी अभियानलाई व्यापकरुपमा चलायमान गराउँदै मर्निङवाकको महत्व बोध गराएमा राम्रै हुनेछ । मुख्यतया खानपिनका बारेमा चेतनामूलक प्रशिक्षणहरुको आवश्यकता छ । सन्तुलित आहार बिहारबाट नै मानिस स्वस्थ रहन सक्छ । त्यसैगरी प्रारम्भिक उपचारका बारेमा पनि सामान्यतया चिकित्सकहरुसँग समन्वय गरी प्रशिक्षणका कार्यक्रमहरु राख्नुपर्छ । कस्तो अवस्थामा कसरी उपचार पद्धति अपनाउने, औषधि पसलहरुबाट आफूखुशी औषधि सेवन गर्दा त्यो हानिकारक हुनसक्छ भन्ने जस्ता दुई विषयहरुको सामान्य जानकारी, तालिमहरुको आयोजना गर्दै जनचेतना जागृत अभियानकै रुपमा अगाडि बढाउँदै जानु पनि समयको माग हो । सो दायित्वको नेतृत्व अब बयलडाँडा चौतारी क्लवले लिनुपर्दछ । केमिकलयुक्त तरकारी, फलफूल आदिलाई दश मिनेट जति पोटास अथवा नुनको सामान्य मात्रा पानीमा मिसाएर डुबाएर धोई पखालीले पनि केही मात्रामा भए पनि विषादीको मात्रा कम हुन जान्छ । यस्तो सामान्य विषयहरुमा जनसाधारणलाई सचेत बनाउँदै जानुपर्ने हुन्छ । खाली मर्निङवाक अथवा योगले मात्र शरीर सन्तुलित हुन सक्दैन । खानपिन, सजगता अपनाएमा नै मर्निङवाकको अर्थ रहन्छ । किनभने मर्निङवाक र खानपिन एक अर्काका परिपूरक हुन् । यस्तै योग अथवा मर्निङवाकलाई सकभर निरन्तरता दिन सके राम्रो हुन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij