धनगढी : सुदूरपश्चिमको दोधारा चाँदनी नगरपालिका लामो समयदेखि राज्यको पहुँच र ध्यानबाट पर रहँदै आएको थियो । नेपालको पश्चिमी सीमारेखा मानिने महाकाली नदी पारीपट्टिको यो क्षेत्र भौगोलिक रूपले दुर्गम मात्र होइन, राजनीतिक रूपमा पनि उपेक्षित रह्यो ।
केही वर्षदेखि यही भूभागमा राष्ट्रिय गौरवको आयोजना ‘सुक्खा बन्दरगाह’ बन्ने घोषणा भएपछि यहाँ विकासको आशा पलाएको छ । यद्यपि घोषणा र अध्ययनका थुप्रै चरण पार गरे पनि बन्दरगाह निर्माणको काम भने अझै सुरुवाती अवस्थामै सीमित छ ।
पाँच वर्षअघि निर्माणको प्रक्रिया सुरु गरिएको भनिए पनि बल्ल हाल आएर रुख कटानको काम थालिएको छ । यसले स्थानीयमा आशा र आशङ्का दुवै जगाएको छ । महाकाली नदीको पारीको क्षेत्रसँग नेपालकै सम्पर्क वर्षाैंसम्म कमजोर रह्यो । पुल नहुँदासम्म दोधारा चाँदनीका बासिन्दा सरकारी कामका लागि पनि जिल्ला सदरमुकामसहित देशको बाँकी भूभागमा पुग्न भारतको भर पर्न बाध्य थिए । स्थानीय मोतीराम भट्ट भन्छन्, ‘पहिला हाम्रोमा नेताहरू आउँदैनथे । बोर्डर एरिया भनेर हेला गर्थे । काम छिटो हुन्नथ्यो ।’
२०५४ सालदेखि बसोबास गर्दै आएका गणेशदत्त जोशी सम्झन्छन्, ‘खाद्यान्न र मलखाद पिठ्युँमा बोकेर ल्याउँथ्यौँ ।’उनीजस्ता धेरैले भारतबाट दैनिक उपभोग्य सामग्री भित्र्याउनु सामान्य थियो । यसैले राज्यबाट बेवास्ता भएको भावनाले गाँजिएको अवस्थामा यहाँका बासिन्दा थिए ।
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव २०६४ मै उठे पनि त्यसलाई मूर्तरूप दिन सरकारले झन्डै एक दशक लगायो । २०७७ तिर आएरमात्रै सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै प्रक्रिया सुरु गर्यो ।
त्यसयता प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले दोधारा चाँदनी पुगेर निरीक्षण गरे, आश्वासन बाँडे, तर काम भने स्थलगत रूपमा अघि बढ्न सकेन ।दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले निरीक्षण गर्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । वर्तमान सरकारले अहिले सोही कुरा दोहोर्याएको छ ।

स्थानीय लोकबहादुर पन्त भन्छन्, ‘अब त प्रधानमन्त्रीकै आश्वासन पनि पत्याउन गाह्रो भइसक्यो । वर्षाैंदेखि हामीले यही कुरा सुनिरहेका छौँ ।’बल्ल आएर सुक्खा बन्दरगाहको वास्तविक निर्माणका लागि एउटा ठोस कदम अगाडि बढेको छ– रुख कटान ।
दोधारा चाँदनी–१ मा पर्ने मायापुरी सामुदायिक वनमा इन्टरमोडल यातायात विकास समितिले ठेक्का प्रक्रियामार्फत १ हजार ५९३ रुख कटान सुरु गरेको छ । कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, ‘अबको दुई महिनाभित्र रुख कटान सकिनेछ र निर्माणका लागि जमिन खाली हुनेछ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो वनमा निकुञ्जकै रोहबरमा रुख कटान भइरहेको छ । यद्यपि, निकुञ्जबाट खटिएका कर्मचारीको सरुवा भएकाले काममा केही ढिलाइ भएको समितिका इन्जिनियर अनिश केसीले बताए ।रुख कटानको काम ४० लाखमा ठेक्का दिइएको हो । यो प्रक्रिया सुरु हुनु नै सुक्खा बन्दरगाह निर्माणतर्फको पहिलो भौतिक हस्तक्षेप मान्न सकिन्छ ।
नेपालतर्फ महाकाली नदीमा चार लेनको पुल निर्माण भइसकेको छ । गड्डाचौकीदेखि मलेरिया नालासम्म ६ लेनको पहुँच मार्ग पनि निर्माण भइसकेको छ । भारततर्फ पनि चक्करपुरबाट सिधा पहुँच हुने मार्ग निर्माणाधीन छ । भारतीय पक्षले पनि ठेक्का प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
यसबाहेक, सुक्खा बन्दरगाह क्षेत्रमा रेलवे प्लेटफर्म, कन्टेनर यार्ड, गोदाम, यात्री टर्मिनल, क्वारेन्टिन घर, बैंक, प्रहरी चौकी, भन्सार कार्यालय र तौल पुल जस्ता संरचना बन्नेछन् । भारत सरकारको पूर्ण लगानीमा करिब ६ अर्ब रुपैयाँमा निर्माण हुने यो परियोजना निर्माण कार्य सुरु भएपछि तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
स्थानीयहरूमा अहिले पनि मिश्रित भावना छ । एकातिर, राज्यले बल्ल वास्तविक काम सुरु गरेकामा केही खुसी छ भने अर्काेतिर यति लामो समय कुर्दा पनि कामले गति नलिएकोमा निराशा ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बु भन्छन्, ‘अब सम्भावना बलियो भएको छ । निर्माणका लागि आवश्यक सबै प्रक्रिया अघि बढेको छ ।’उनका अनुसार बन्दरगाह निर्माणले दोधारा चाँदनीमात्र होइन, सिङ्गो सुदूरपश्चिमलाई आर्थिक रूपमा गतिशील बनाउने छ । तर, स्थलगत प्रगति हेर्दा अझै पनि निर्माण कार्य ढिलो हुने खतरा देखिन्छ ।
सुक्खा बन्दरगाह बन्ने खबरले एक दशकअघि दोधारा चाँदनीमा उत्साह ल्याएको थियो । अहिले बल्ल रुख कटान सुरु हुनु सकारात्मक भए पनि यो विकासको गति हो कि प्रशासनिक ढिलासुस्तीको प्रतिबिम्ब भन्ने प्रश्न यथावत छ ।
सुनियोजित कार्ययोजना, पारदर्शी ठेक्का प्रक्रिया, वातावरणीय मूल्याङ्कनको निष्पक्ष कार्यान्वयन र दुई देशबिचको गम्भीर समन्वयविना यो आयोजनाले अपेक्षाअनुसार गति लिन गाह्रो देखिन्छ । अहिलेको अवस्था हेर्दा कम्तीमा एकथरि बासिन्दामा आशा बाँकी छ– अब साँच्चै केही हुँदैछ ।
यो आशालाई निरन्तरता दिन सरकारले व्यावहारिक कार्यसम्पादन र जबाफदेहीतामा आफूलाई खरो उतार्न आवश्यक छ । (तस्बिर सौजन्य : इन्टरमोडल यातायात विकास समिति)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij