काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्न सरकारसँग प्रस्ताव गरेको छ ।पहिलो चरणको आन्दोलन अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउँदै सो पार्टीले राजनीति र राज्यको सबैभन्दा जरुरी विषय रोजगारी र सुशासन भएपनि अहिलेसम्म राजनीति र राज्यका लागि यी मुद्दा प्राथमिकतामा नपरेको जनाएको हो ।सुशासन र रोजगारी राज्यको प्राथमिकतामा नपर्दा मुलुकमा भविष्य छ भन्ने विश्वाससमेत हराउँदै गएको र सधैँभरी सङ्कटपूर्ण सङ्क्रमणमा अल्झिरहनुपरेको सो पार्टीले जनाएको छ ।
‘राजनीतिक नालायकी, अस्थिरता र अन्योल बढ्दै गएको छ । मुलुकले लामो समय यो अवस्था थेग्न सक्दैन’, एकीकृत समाजवादीले प्रस्ताव अघि सार्दै भनेको छ, ‘मुलुकको राष्ट्रिय एजेन्डा बनाउन नेपाल सरकारको आयोजनामा यथाशीघ्र ‘रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन’ आयोजना गरौँ ।’
त्यस्तो सम्मेलनमा सबै राजनीतिक पार्टीहरूले गणतन्त्रको अभ्यासमा रहेका कमी तथा कमजोरीको आत्मसमीक्षा गर्दै आगामी १० वर्षमा कृषि, उद्योगलगायत उत्पादनका क्षेत्रहरूको विकास, शिक्षा÷स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास र भ्रष्टाचार– ढिलासुस्ती रहित पारदर्शी राजनीतिक, न्यायिक तथा प्रशासनिक व्यवस्थाका लागि आआफ्ना योजनाहरू पेस गर्ने प्रस्ताव समेत सो पार्टीले गरेको छ ।
‘त्यसले राजनीतिलाई जनताको दैनिक जीवन र राष्ट्रको दीर्घकालीन भविष्यमा केन्द्रित गर्नेछ । त्यस क्रममा कैयन विषयमा राष्ट्रिय सहमति बन्न सक्छ वा कम्तीमा पनि राष्ट्र निर्माणका लागि कुन राजनीतिक दलका के योजना छन् भन्ने विषयमा राष्ट्रिय बहस सुरु हुनेछ’, एकीकृत समाजवादीको विश्वास छ ।प्रधानमन्त्री ओलीले मागबारे अध्ययन गरेर जवाफ दिने बताएका छन् ।
जनजीविका, सुशासन, विकासलगायतका सवालमा चैत १ गतेदेखि पहिलो चरणको आन्दोलन थालेको सो पार्टीले वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरूमा मागपत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यसपछि वैशाख २५ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।‘पहिलो चरणको आन्दोलनका कार्यक्रम वैशाख २३ सकिँदै छ’, खतिवडाले भने, ‘त्यसपछि बैठक बसेर दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरिनेछ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij