लुम्बिनी : पर्यटकको सेवामा सुधार ल्याउने उद्देश्यले लुम्बिनी विकास कोषले अत्याधुनिक विद्युतीय सवारीसाधन ल्याएको थियो। अनधिकृत प्रयोगका कारण ती गाडी बिग्रिएर थन्किएका छन्।
यही वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ। २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए । चालकसहित भ्यानमा सवार दुईजना कोषका पदाधिकारी वा कर्मचारी थिएनन्।
कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि २८ लाख खर्च लाग्ने प्राविधिकले जनाएका छन्।
बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट लुम्बिनी साँस्कृतिक नगरपालिका-७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भए। साथै लु३१प १८६ नम्बरको मोटरसाइकलमा क्षति पुग्यो।
‘ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु १ झ ६९५ नम्बरको भ्यानको चारवटै पाङ्ग्रा पञ्चर भएको छ। पाँचमध्ये चार बसको एसी बिग्रिएको छ। लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ,’ उनले भने।
एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको ‘क्लिन इनर्जी’ योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त सवारीसाधन तिनैमध्येबाट हुन् ।
लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच विद्युतीय बस वातानुकूलीत, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ। एकपटक पूरा चार्ज गरेपछि ४०० किमी गुड्नसक्ने बस-भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ ।
अदालतले सेतोलाई हरियो नम् प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए।
‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ। अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइनेछ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij