काठमाडौँ : कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्न ५० वर्षीया मीना शाही दमाई आइतबार कैलालीस्थित जिल्ला सरकारी वकिल कार्यालयबाट हतकडीसहित फरार भएकी थिइन् ।
उनलाई प्रहरीले भारतको पलियाबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । कैलालीका एसपी पदम विष्टले उनलाई पक्राउ गरिएको रातोपाटीलाई बताए । उनले भने, ‘भारतीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेका छौँ ।’
मीना शाही दमाईले आफ्नै भदैनीलाई भारतमा लगेर बेचेको आरोप छ । मीनालाई खोज्दा सो मुद्दामा फरार आएका अर्का एक जना फेला परेका छन् । बेचबिखन मुद्दामा फरार रहेका उदय परियारलाई पनि पक्राउ गरिएको एसपी विष्टले जानकारी दिए । उदय परियार ‘राइटर’ टिकापुर नगरपालिका–१ स्थित बिशालनगरबाट पक्राउ गरेका हुन् ।
मीना शाहीले लगाएको हतकडी धनगढीस्थित एउटा होटेलमा फेला परेको छ । बसपार्कको होटेलमा उनले हतकडी कसरी फुकाल्न सफल भइन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । थुनुवा भागेको घटना अनुसन्धान गर्न दुई जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक हवलदार चक्र अधिकारी र जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij