Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह

बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह

काठमाडौँ : बालबालिकाको मानसिक विकासमा सकारात्मक सोचको महत्व उल्लेख गर्दै शिक्षक तथा अभिभावकहरूले बालबालिकामा नकारात्मकता नभरी उज्ज्वल भविष्य निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

नागार्जुन नगरपालिका–५ स्थित सीतापाइमा रहेको इलेन मेमोरियल स्कुलले १४औं अभिभावक दिवस कार्यक्रममा उनीहरूले बच्चाहरूमा सानैदेखि नकारात्मक भावना देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

विद्यालयकी अध्यक्ष सपना तुलाधरले हरेक बालबालिकालाई सकारात्मक सोच, आत्मविश्वास र जिम्मेवारीपन भएका नागरिक बनाउन विद्यालयले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको जानकारी गराइन्। उनले बालबालिकाको बहुपक्षीय विकासका लागि अभिभावक र विद्यालयबीच सशक्त सहकार्य आवश्यक रहेको बताइन्।

विद्यालयका प्रिन्सिपल जयराम चापागाईंले बालबालिकालाई नकारात्मक कुरा सुनाउनुको सट्टा सधैँ सकारात्मक दृष्टिकोणतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिए। उनले आधा खाली गिलासमा आधा पानी पनि देख्न सक्ने आशावादी दृष्टिकोण विकसित गराउनुपर्ने उल्लेख गर्दै, देशमा भइरहेका सकारात्मक परिवर्तनहरू पनि देखाउन जरुरी रहेको बताए।

प्याब्सन नागार्जुनका अध्यक्ष वासुदेव घिमिरेले महँगो शुल्क तिरेर टाढाको विद्यालय पठाउनु नै राम्रो भन्ने धारणा गलत भएको बताए। उनले आफ्नै टोलछिमेकमा अवस्थित विद्यालयहरू गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै अभिभावकहरूलाई नजिकको विद्यालयलाई प्राथमिकता दिन आग्रह गरे।

कार्यक्रममा विद्यालयका नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी नृत्य तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गराइएको थियो। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिका र अभिभावकहरूलाई पुरस्कार वितरण गरिँदै उनीहरूको प्रयासको कदर गरिएको थियो।

सो अवसरमा पत्रकारिता क्षेत्रबाट शिक्षा र चेतनामा योगदान पुर्‍याएको भन्दै नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यस्तै, विद्यालयका कर्मचारीहरू चमेली दाहाल, रमिता तामाङ, मालती तामाङ, कमला सिम्खडा दुवाडी, सरिता थापा मगर, प्रकाश मोक्तान र रामेश्वर कुँवरलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा नागार्जुन प्याब्सनका नवनिर्वाचित अध्यक्ष वासुदेव घिमिरे, उपाध्यक्ष डिबी ढकाल, सचिव प्रकाशमान शाही, सहसचिव इन्दिरा घिमिरे, कोषाध्यक्ष हिरालाल खनाल, तथा सदस्यहरू दीपक भट्टराई, सुरेश महतो, बिमलेश महासेठ, काठमाडौँ जिल्ला उपाध्यक्ष सूर्य केसी, परीक्षा सचिव जयराम चापागाईं, सदस्य गोविन्द पंगेनी र सुगन्धराज रेग्मीलाई समेत विद्यालयले सम्मान गरेको जानकारी विद्यालयका भाइस प्रिन्सिपल चक्रबहादुर बिष्टले गराए।

विद्यालयका उच्च मावि अन्तर्गतको विज्ञान विभाग प्रमुख अभिषेक ज्ञवालीका अनुसार विक्रम सम्वत २०६७ सालमा स्थापना भएको इलेन मेमोरियल स्कुलले हाल कक्षा १२ सम्मको अध्ययन व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij