गोरखा : गोरखाको धार्चे गाउँपालिकाका भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।गण्डकी प्रदेशमै पहिलोपटक धार्चे गाउँपालिकाका ४ जना भूमिहीन दलित घरपरिवारलाई शनिबार लालपुर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखामार्फत ४ जना भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा उपलब्ध गराइएको उहाँको भनाइ छ । धार्चेमा जग्गा प्राप्तिका लागि ८ जना भूमिहिन दलित घरपरिवारको निवदेन परेकोमा दुई जना बैदेशिक रोजगारीमा रहेको र दुई जनाको नागरिकताको समस्याका कारण लालपुर्जा प्रदान गर्न रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
आयोगमार्फत स्थानीय राजु बिकलाई २७४.२५ बर्गमिटर, आइतसिंह कामीलाई १९५.५० वर्गमिटर, मंगले बिकलाई २४१.१४ वर्गमिट र रामबहादुर कामीलाई ३४०.०० वर्गमिटर क्षेत्रफल भएको जग्गाको लालपुर्जा प्रदान गरिएको हो ।
बि.स २०८० साल चैतमा नै धार्चे गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई लालपुर्जा वितरणको अन्तिम तयारी गरेको भएपनि सरकारले तत्कालिन आयोग खारेज गरेपछि लालपुर्जा वितरणको काम झण्डै डेढ वर्षदेखि रोकिदै आएको थियो ।
धार्चे गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाई छ । धार्चेमा अव्यवस्थित बसोबासी भने २५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गधनी लालपुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
भूमिहिन दलित घरपरिवारले आवाज कमोत गर्दै आएको घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले गरेको कानुनी व्यवस्थाबमोजिम उपलब्ध गराइएको आयोग गोरखा जिल्ला अध्यक्ष राजनराज पन्तले जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij