Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

शिक्षकका यी माग पूरा गर्न सकिन्छ, यी सकिँदैन भनेर प्रस्ट पार्न सक्नुपर्छ

शिक्षकका यी माग पूरा गर्न सकिन्छ, यी सकिँदैन भनेर प्रस्ट पार्न सक्नुपर्छ

शिक्षकहरू शिक्षा प्रणालीका महत्त्वपूर्ण अंग हुन् । शिक्षा क्षेत्रमा शिक्षक, विद्यार्थी र अभिभावकलाई कोर मानिन्छ । निरंकुशताका वेलामा शिक्षकहरू बौद्धिक तथा सचेत भएकै कारण शिक्षासँगै लोकतन्त्रको कोणबाट पनि आफ्नो भूमिका निर्वाह गरेका थिए ।

२०१७ सालपछि विद्यार्थीहरू पार्टीगत संगठनका रूपमा बाहिर प्रकट भए । विद्यार्थी राजनीतिबाट नै अगाडि बढे । २०३२ सालमा पञ्चायतविरुद्ध काम गरेको भन्दै प्राध्यापकहरू निष्कासित भए । २०३६ सालपछि शिक्षकहरू समेत आन्दोलित भए । नेपालको समग्र शिक्षा निरंकुशताविरोधी आन्दोलनमा कुनै न कुनै रूपमा लोकतान्त्रिक आन्दोलनको पक्षमा रहे । जुन निकै महत्त्वपूर्ण हो ।

२०४६ सालपछि संवैधानिक राजतन्त्रसहित संसदीय प्रणाली आयो । त्यो प्रणालीका आफ्ना सीमा थिए । शिक्षकका समस्या समाधान गर्न सबभन्दा ठुलो कुरा सम्मान दिने, लगानी गर्ने, रूपान्तरण गर्नुपर्ने थियो । त्यो हुन सकेन । र निजीकरणको प्रक्रिया सुरु भयो ।

नेपालको सार्वजनिक शिक्षालाई उदारीकरण, निजीकरणले कमजोर बनाउँदै गयो । सरकारी स्कुलमा काम गर्ने शिक्षकहरू कुनै न कुनै ढंगबाट आफ्ना मागका लागि ट्रेड युनियन बनाएर काम गर्न थाले ।

त्यतिखेर नेपाल राष्ट्रिय शिक्षक संगठन सबैको साझाजस्तो थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बनेपछि कर्मचारी, शिक्षक सबैतिर एकखालको पार्टीकरण गर्ने, ट्रेड युनियनको प्रक्रिया सुरु भयो ।

म अघिका शिक्षामन्त्री र शिक्षकहरूको संवाद सकारात्मक ढंगले अघि बढेको थिएन । त्यसपछि तत्कालीन सभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको मध्यस्थतामा एउटा सम्झौता गरिएको रहेछ ।

२०६२/०६३ को आन्दोलनसम्म आइपुग्दा कोही जनयुद्धका पक्षधर, कोही जनआन्दोलनका पक्षधर, कोही राजनीतिमा बाहिर भए पनि पेसागत हकहितका लागि लड्ने ढंगले शिक्षकहरू संगठित रूपमा विकास भए । र आफ्ना पार्टी नजिकका संगठनबाट हल हुँदैन भन्ने भएपछि आपसमा एकताबद्ध भएर मिलेर जान सुरु गरे ।

त्यसको सुरुवात नेपाल शिक्षक महासंघको गठन भएसँगै भयो । संविधान बनेपछि म शिक्षामन्त्री भएको थिएँ । त्यो वेला शिक्षा ऐनको आठौँ संशोधन गरेको थिएँ । राज्यले शिक्षक महासंघलाई चिन्ने कानुन बनायौँ । सबैको महासंघ बन्यो ।

म मन्त्री हुँदा १८ प्रकारका शिक्षकहरू थिए । त्यसलाई समाधान गरेर स्थायी र अस्थायीमा झार्ने कोसिस गरेँ । परीक्षाको व्यवस्था गरियो । परीक्षा नदिनेलाई गोल्डेन ह्यान्डसेकको व्यवस्था गरियो । सानो संख्या विविध कारणले छुटेको छ । तर त्यसको एक ढंगले व्यवस्थापन गरियो ।

त्यो समाधान गर्न लाग्ने दिशामा लाग्दै गर्दा म अघिका शिक्षामन्त्री र शिक्षकहरूको संवाद सकारात्मक ढंगले अघि बढेको थिएन । त्यसपछि तत्कालीन सभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको मध्यस्थतामा एउटा सम्झौता गरिएको रहेछ ।

महासंघसँग मिलेर काममा अघि बढेको थिएँ । त्यतिखेर शिक्षा ऐनको आठौँ संशोधन गरेका थियौँ । संविधानको आधारमा निःशुल्क तथा अनिवार्य शिक्षा ऐन ल्यायौँ । त्यो ल्याइरहँदा अलि विस्तृत खालको संघीयताअनुरूप अर्को ऐन ल्याउँछौँ भनेर तत्कालीन क्याबिनेटले ऐन ल्याउन सहमति दियो । तर एउटा ऐनले समस्याको समाधान नहुने रहेछ भने तीन वटा चाहिने भयो । एउटा संघीयता र विद्यालय शिक्षासम्बन्धी, अर्को प्राविधिक र व्यावसायिक शिक्षासँग सम्बन्धित र उच्च शिक्षाका लागि ।

संसद्को प्रक्रियामा करिब १७५८ वटा संशोधन परे । त्यो वेला सरकारको तर्फबाट पनि गयो । सांसदहरूले समेत संशोधन हाले । त्यसपछि संसद्ले छलफलका लागि शिक्षा समितिमा पठायो । समितिमा छलफल अघि बढिरहेको थियो । कस्तो ऐन बनाउने भनेर मैले क्याबिनेटबाट एउटा आयोग बनाउन र त्यो आयोगको अध्ययनका आधारमा प्रस्ताव लगियो । आयोग बन्यो । रिपोर्ट पनि तयार गर्‍यो । केपी ओली नै प्रधानमन्त्री थिए । उनले रिपोर्ट सार्वजनिक गर्न मानेनन् । जसले गर्दा विवाद बढ्यो । त्यही पनि ऐन ड्राफ्ट तयार पारेर कानुन मन्त्रालयमा पठाएका थियौँ । कानुन मन्त्रालयले ऐन आउनुअघि नीति चाहियो भनेपछि नीतिको ड्राफ्ट तयार पारेर क्याबिनेटबाट पास गरेर पठायौँ । म हुँदा सम्झौता गरिएको थियो । त्यही वेला कोरोना आयो । कोरोना महामारीको व्यवस्थापनतिर पनि लागियो । ऐनको ड्राफ्टको प्रक्रियामा पनि गयौँ । तीन वटा ऐनको ड्राफ्ट तयार पारियो । प्रक्रियामा समेत गइसकेको थिएँ । तर प्रधानमन्त्रीले संसद् भंग गरेपछि राजीनामा दियौँ । हामीले राजीनामा दिएपछि त्यो विषय अगाडि बढ्न सकेन ।

सम्झौता गर्ने, कार्यान्वयन नगर्ने कतिले एकछिन बाध्यात्मक ढंगले सम्झौता गर्ने, आन्दोलन रोक्न तथा मत्थर पार्न सम्झौता गर्ने गरेको देखिन्छ । विगतमा भएका सम्झौता त्यहीअनुरूपका देखिए । २०८० को असोजमा भएको सम्झौतापछि कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको थियो । त्यो वेला प्रचण्डजी प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए । उनकै नेतृत्वमा गत असोजमा शिक्षक महासंघसँग सम्झौता भएको थियो । त्यो वेला पाँच मन्त्री सहभागी थिए ।

संसद्को प्रक्रियामा करिब १७५८ वटा संशोधन परे । त्यो वेला सरकारको तर्फबाट पनि गयो । सांसदहरूले समेत संशोधन हाले । त्यसपछि संसद्ले छलफलका लागि शिक्षा समितिमा पठायो । समितिमा छलफल अघि बढिरहेको थियो ।

हिउँदे अधिवेशनमा गयो । बर्खे अधिवेशनमा जानेवेला बजेटतिर गयो । ऐन बनाउने दिशामा लाग्ने वेला सरकार बदलियो ।

निजी कि सार्वजनिक ? कुन शिक्षा प्रणालीलाई राज्यले अपनत्व लिने हो त्यसको टुंगो लाग्नुपर्ने देखिन्छ । त्यो समस्याको समाधान नभई अन्य समस्या समाधान गर्न सकिँदैन । शिक्षकका समस्या समाधान गर्न दीर्घकालीन उपायसहित अघि बढेको अवस्था पनि छ । अर्को भनेको तात्कालिक क्षणिक समस्यालाई हल गरौँ भन्ने खालका पनि छन् ।

अर्कोचाहिँ शिक्षासम्बन्धी हेर्ने दृष्टिकोणमै अन्तरहरू छन् । सार्वजनिकलाई केन्द्रमा राखेर अरूलाई पूरक बनाउने कि निजीलाई केन्द्रबिन्दुमा राखेर सार्वजनिकलाई पूरक बनाउने भन्ने दुई वटा दृष्टिकोण अन्तर रहेका छन् । यो सर्वाधिक महत्त्वपूर्ण विषय हो । योचाहिँ एकमुस्ट रूपमा समाधान गर्ने गरी कोसिस पनि गरिएको हो । सम्झौता गरेर राज्यले अनरसिप नलिएर आएका समस्या हुन् ।

निजी कि सार्वजनिक ? कुन शिक्षा प्रणालीलाई राज्यले अपनत्व लिने हो त्यसको टुंगो लाग्नुपर्ने देखिन्छ । त्यो समस्याको समाधान नभई अन्य समस्या समाधान गर्न सकिँदैन ।

शिक्षकहरूले राखेका जायज माग मात्रै सम्बोधन गर्नतिर लाग्नुपर्छ । आन्दोलन गर्दै गर्दा उनीहरूले राखेका मागहरू हु–बहु सम्झौता गरिन्छ । जुन कार्यान्वयनमा जान सक्दैन र पछि पुनः शिक्षकहरू सडकमा आउनुहुन्छ । आन्दोलन गर्नुहुन्छ । फेरि सरकार आन्दोलन रोक्न जे–जे माग अघि सारेका हुन्छन्, त्यही मागलाई समावेश गरेर सम्झौता गर्न बाध्य हुने गरेका छन् ।

यसको अन्त्य गर्नुपर्ने हुन्छ । शिक्षकका जायज माग सम्बोधन गर्ने र गर्न नसकिने मागहरू यो कारणले सम्बोधन गर्न सकिँदैन भनेर प्रस्ट भन्नुपर्छ । त्यसमा सम्झौता गर्नु हुँदैन । यस्तो गरिए सम्झौता भएका माग कार्यान्वयन गर्न सकिन्छ । र शिक्षकहरूलाई पटक–पटक सडकमा आउनबाट रोक्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij