Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क

चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क

काठमाडौँ : प्रतिनिधिसभाको आजबाट सुरु भएको बजेट अधिवेशनको पहिलो दिन बोल्ने नेताहरूले गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई प्राथमिकतामा राखेर धारणा व्यक्त गरेका छन् । राजावादीहरूको त्यो प्रदर्शनबारे सत्तापक्ष र विपक्षीले विपरीत धारणा राखेका हुन् ।

सत्ता पक्षीय सांसदहरूले तीनकुने घटना घटाउनेलाई कानुनी कठघरामा उभ्याइनुपर्ने बताएका छन् । विपक्षीहरूले भने घुमाउरो पारामा सत्तापक्षसँग निकट रहेकाहरूको संलग्नतामा घटना घटेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका सचिव समेत रहेका सांसद गोकर्ण विष्टले प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखा पर्‍यो त्यहीँ अन्त्य गरिनुपर्ने बताए ।

उनले राजावादीहरूले गत चैत १५ गते हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउन गरेको प्रयासलाई निस्तेज पार्न खुट्टा नकमाउन आग्रह गरे । ‘चैत १५ गते राजावादीले तिनकुनेमा हर्कत देखाए । उनीहरूले विचार र अभिव्यक्ति राख्ने हिसाबले मात्रै कार्यक्रम गरेनन् ।

हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउने प्रयास गरे,’ विष्टले भने, ‘जनताका संवैधानिक आकांक्षालाई पछाडि धकेल्ने प्रयास गर्ने यो हर्कत देखाउनेलाई कारबाही गर्न खुट्टा नकमाओस्, संविधान र कानुनको दायरामा ल्याओस् ।’

उनले संविधानमा कसम खाने तर संविधानलाई कमजोर बनाउने काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । जन्मँदासाथ शासक बन्ने र नमर्दासम्म रहिरहने व्यवस्थाले युवाको चाहनालाई सम्बोधन गर्न नसक्ने बताउँदै विष्टले भने, ‘जन्मँदासाथ शासक बन्ने र नमर्दासम्म रहिरहने व्यवस्थाले युवाको चाहनालाई सम्बोधन गर्न सक्दैन । नागरिकले निरङ्कुशता खोजिरहेका छैनन् ।

जनताले व्यवस्थाको विकल्प खोजेका छैनन् ।’ मुलुकमा अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेको बताउँदै उनले अराजक र अस्थिरतामा मुलुकलाई लैजाने प्रयासलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गर्न सरकारसँग आग्रह गरे ।

‘अराजकता र अस्थिरता चाहने शक्तिहरूले नेपाली समाजलाई अस्थिर बनाउन खोजिरहेका छन्,’ विष्टले भने, ‘उनीहरूलाई संवैधानिक कानुनी तरिकाबाट समाधान गर्दै व्यवस्था र संसदीय मर्यादालाई बलियो बनाउन सकिन्छ । सरकार त्यो बाटोमा अगाडि बढ्नुपर्छ ।’ प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले केहीले मुलुकमा अशान्ति मच्चाउन विभिन्न भाष्य निर्माण गर्न लागिरहेको बताए । ‘केही अशान्तितर्फ धकेल्दै मुलुकलाई पुरानो अवस्थामा फर्काउन लागिरहेका छन् । अशान्ति मच्चाउने तत्त्वले एक किसिमको भाष्य निर्माण गरिरहेका छन्,’ घिमिरेले भने ।

राजसंस्था पुनर्स्थापनाको अभियान बोकेर हिँड्नेहरूलाई सपना नदेख्न आग्रह गर्दै घिमिरेले राजसंस्थाका पुनर्स्थापनका लागि चिना टिप्पण नहेर्न आग्रह गरे ।‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने सपना नदेखे हुन्छ,’ चिना टिप्पण नहेरे हुन्छ । त्यसका लागि गरेका सम्पूर्ण टिप्पणी व्यर्थ हुनेछन् ।’

उनले नेपालको राजतन्त्रमा संवैधानिक भई बस्ने स्वभाव नै नभएको बताए । ‘राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकाङ्क्षाले आज मुलुकलाई गणतन्त्रमा पुर्‍यायो । नेपाली कांग्रेसलाई दिशा बदल्न बाध्य पारियो,’ घिमिरेले भने, ‘यसको लागि नेपालको राजतन्त्र आफैँ दोषी छ ।’

सत्तापक्षका कांग्रेस र एमालेले राजावादीलाई त्यो घटनामा दोषी देखाए पनि प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सत्तापक्षको निकटमा रहेकाहरू पनि घटनामा संलग्न रहेको बताए ।

संसद्मा धारणा राख्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीनकुनेमा प्रतिगामी झन्डा उठाउने व्यक्तिहरू प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निकटका भएका बताए दाबी गरे । उपमहासचिव पुनले आफूनिकटकाले प्रतिगामी झन्डा उठाएकोबारे आत्मसमीक्षा गर्नुभएको छ भन्दै प्रश्न गरे ।उनले भने, ‘प्रतिगामी झन्डा उठाउने एमालेका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद छन् । केही प्रधानमन्त्रीज्यूका चुनावी सहकर्मी छन् । यसमा प्रधानमन्त्रीज्यूले आत्मसमीक्षा गर्नुभएको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले हिंसात्मक भनेको आन्दोलनमा सहभागी प्रदर्शनकारीबाट हिंसा भड्काउने के–के हतियार अनुसन्धानका क्रममा सरकारले प्राप्त ग¥यो भन्दै प्रश्न गरे । उनले भने, ‘चैत १५ गते तीनकुनेको घटनामा राजावादीको हिंसात्मक प्रदर्शन थियो भन्ने भाष्य सरकारले निर्माण गरिरहेको छ । त्यसो हो भने आजसम्म प्रदर्शनकारीबाट एउटा लाठी पनि किन पक्रिनु भएन । हिंसात्मक हुन बन्दुक हुनपर्थ्यो, पेस्तोल हुन पर्थ्यो, कहीँ अहिलेसम्म अनुसन्धानमा भेटिए ।’

उनले तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई छोडेर घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरे । त्यस्तै उनले चैत १५ गते भाटभटेनी सुपर मार्केट लुटपाट गर्ने काण्डमा पक्राउ पर्ने एक जना नेपाली कांग्रेसका सहमहामन्त्रीका छोरा रहेको दाबी गरे । उनलाई रक्सी लुटेर जाँदैगर्दा पक्राउ गरिए पनि पछि थाहा भएर छोडिएको आरोप उनको थियो । त्यसबारे आफूहरूसँग प्रमाण रहेको बताउँदा गृहमन्त्री रमेश लेखक संसद्मै उपस्थित थिए ।

रास्वपालाई आफ्नै अध्यक्षको चिन्ता

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्यालले धारणा राखे । अरू दलका नेताहरूले विभिन्न घटनाबारे बोल्दा उनलाई चिन्ता आफ्नै सभापति रवि लामिछाने थुनामा परेको र त्यो थुनामा राजनीतिक प्रतिशोधका आधारमा राखिएको बताए । ‘हाम्रो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साधेको छ । लोकतान्त्रिक राज्यले थुना बाहिर बसेर मुद्दा लड्ने सुविधा दिनु पर्नेमा थुन्न हतार गरेको छ,’ अर्यालले भने, ‘दुई दिन तीन रात कानुनविपरीत हुने गरी प्रहरीले उहाँलाई नियन्त्रणमा लियो । पक्राउ गर्नुपूर्व पक्राउपूर्जी दिनु पर्नेमा अदालतमा पुर्‍याएपछि मात्रै पक्राउ पुर्जी दियो ।’

आज बसेको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्त अनुमति मागेका थिए । त्यसपछि अर्थमन्त्री पौडेलले विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij