Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

१६ वर्षमा बिहे भएको स्वीकार गर्दै मिस पबीले भनिन्, ‘एउटा ठुलो दुर्घटना थियो, कट्यो’

१६ वर्षमा बिहे भएको स्वीकार गर्दै मिस पबीले भनिन्, ‘एउटा ठुलो दुर्घटना थियो, कट्यो’

काठमाडौँ : टिकटकर तथा अभिनेत्री मिस पबीले आफ्नो बालविवाह भएको खुलासा गरेकी छन् । उत्सव रसाइलीको ‘रमाइलो विथ उत्सव’ कार्यक्रममा उनले यो कुरा बताएकी हुन् ।

यसअघि पनि मिस पबीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिइनन् । उनले कार्यक्रममा भनेकी छन्, ‘१६ वर्षको उमेरमा भएको थियो । म यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहँदिन थिए । म हैन नै भन्छु । किनभने कानुनी रूपमा केही पनि भएको थिएन । त्यो गैरकानुनी कुरा थियो । तर म कसैलाई नराम्रो भन्न चाहन्नँ ।’

यस्तो छ अन्तर्वार्ताको अंश

प्रश्न– राजीखुसी थियो कि बाध्यकारी थियो ?

के–के थियो थियो । म त्यो कुरामा बोल्न चाहन्नँ । जे कुरा भयो, त्यही बेला नै सकियो ।

प्रश्न– रिग्रेट छ ?

मलाई रिग्रेट छैन । मैले धेरै कुरा सिकेँ ।

प्रश्न– के पाठ सिक्नुभयो ?

जीवनमा अघि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । मेरो डिभोर्स भयो, मैले त्यो डिभोर्समा नै बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो भन्यो, त्यस्तो भन्यो भन्ने चाहिँ हुनुहुँदैन जस्तो लाग्छ मलाई । म त्यो कुरालाई तल हेर्न चाहन्छु । किनभने आफूमाथि भएपछि तलको कुरा त सानो–सानो देखिन्छ नि ।

प्रश्न– त्यसबारे समाचार आउँदा दुःख लागेन ?

मलाई हर्ट भएन । त्यो भएकै कुराहरू हो नि त । तर, म त्यो कुराहरू बाहिर निकाल्न चाहँदिनँ थिएँ ।

प्रश्न– कसरी आयो यो कुरा ?

कसैको इन्टेन्सन थियो होला । जति जति हामी पब्लिक हुँदै जान्छौँ, त्यति नै मानिसहरू चिन्छन् र तपाईँको जीवनमा कस्तो थियो ? के थियो ? भन्ने हुन्छ । तपाईँलाई सबैले माया गर्ने हुन्छ । तपाईँको सफलतामा ‘हेट’ गर्ने पनि हुन्छन् । त्यसपछि मानिसहरूले तपाईँको बारेमा खोतल्दै जान्छन् ।

मैले जीवनमा राम्रो कुराहरू पनि गरेको छु नि त । तर, ती कुराहरू निकाल्न खोज्दैनन् । नराम्रो कुरा अगाडि निकाल्न खोज्छन् ।

प्रश्न– यसलाई स्वीकार गर्नुपर्ने होइन र ?

मैले स्वीकार गरेँ पनि यो एकदमै बच्चा बेलामा भएको थियो । बच्चा थिएँ । अहिले २५ वर्षको उमेरमा धेरै कुरा बुझेँ जस्तो लाग्छ ।

प्रश्न– कतिबेला बुझ्नुभयो ?

मैले २० वर्षपछि मात्र थाहा पाएँ । यस कुरामा मेरो आमा र बुवाले मलाई समर्थन गर्नुहुन्छ । डिभोर्सपछि केटाहरूले के कुरा सहनुपर्छ भन्ने मलाई थाहा भएन र केटी मानिसले धेरै कुरा सुन्नुपर्छ । त्यो कुरा भएपछि कोही मसँग साथी बन्न चाहेनन् । म त्यो समाजका लागि नराम्रो भए । स्कुलको साथीहरू पनि साथी छैनन् । एउटा ठुलो दुर्घटना थियो, त्यो कट्यो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij