Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मुग्लिनमा खाद्य सुरक्षा र खाद्यजन्य रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण

मुग्लिनमा खाद्य सुरक्षा र खाद्यजन्य रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण

मुग्लिन : बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालय,हेटौँडाको आयोजनामा खाद्य, सरसफाइ, खाद्य सुरक्षा र खाद्यजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण (खाद्य गुणस्तर निगरानी) कार्यक्रम मुग्लिनमा सम्पन्न भएको छ ।बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, हेटौँडाका जनस्वास्थ्य प्रशासक सञ्जु रायको अध्यक्षता एवं इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

इच्छाकामनामा होटल, रेस्टुरेन्ट तथा खाजा पसल सञ्चालन गर्दै आएका सरोकारवालाहरुका लागि अभिमुखीकरण गरिएको हो ।कार्यक्रममा खाद्य स्वच्छता खाद्य ऐन नियम तथा खाद्यजन्य रोगहरुको कारण रोकथाम र नियन्त्रण बारे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन चितवनका खाद्य निरीक्षण अधिकारी बन्दना पन्तले प्रस्तुती दिनुभएको थियो । बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, हेटौँडाका जनस्वास्थ्य प्रशासक सञ्जु रायले मुग्लिनमा सञ्चालनमा रहेका होटल तथा रेष्टुँराहरुको अनुगमनका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले १५ वटा होटल तथा रेष्टुँराहरुमा अनुगमन गरिएको बताउनुभयो । खाना कोठा र उपकरणको स्वच्छतता खाद्य भण्डारण, खाना ह्यान्डलिङ अभ्यास लगायतको अनुगमन गरिएको थियो । भान्सा सफा पाइएपनि हात धुने ,भाडा माझ्ने ठाउँ,र सौचालयमा भने थप सुधार गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । साथै खाद्य बस्तुहरुको भण्डारमा सुधार गर्न आवश्यक सुझाव दिएको बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्नुभएको थियो । उहाँले अन्जानमा होटल सञ्चालकहरुबाट त्रुटीहरु हुने गरेकाले यस्ता त्रुटीहरु हुन नदिन उहाँहरुले गरेको ठिक छकी छैन भन्दिनुपर्ने आवश्यक रहेकोले अनुगमन तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । होटल संचालकहरुबाट हुने समान्य त्रुटीले सेवाग्राहीको स्वास्थ्यमा गम्भीर असर पुग्ने तथा ग्राहकहरु असन्तुष्ट हुदाँ होटल सञ्चालकको समेत व्यवसायमा असर पुग्ने उहाँको भनाई छ । कार्यक्रममा इच्छाकामनाका उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष तेज बहादुर शेरचन,होटल संघका तर्फबाट दल बहादुर बुढोथोकी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij