चितवन : भरतपुर महानगरपालिका–२ आँपटारीमा शिद्वेश्वर धाम निर्माण गरिएको छ । स्थानीय समाजसेवी केशवराज कँडेलले व्यक्तिगत लगानीमा धाम निर्माण गरेका हुन् ।उनले २०७३ मा जलदेवी सामुदायिक वन क्षेत्रको पाँच कट्ठा क्षेत्रफलमा भगवान्को प्रतिमासहित धाम निर्माण गरेका हुन् । भरतपुर महानगरपालिका–२ निवासी कँडेलले धाम निर्माण गरी शनिबार सामुदायिक वनलाई स्वामित्व हस्तान्तरण गर्नुभएको छ ।
हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराजले धाममा रहेका मूर्तिहरूको प्राणप्रतिष्ठा गरी वनलाई हस्तान्तरण गरे । महाराजका अनुसार धर्म रक्षाका लागि गरिएको योगदान सधैँ सार्थक रहन्छ ।
देवघाट जाने मुख्य द्धार अगाडि धाम निर्माण गर्दा भक्तजनको आकर्षण बढ्ने अनुमान छ । कँडेलले आफ्नो इच्छाअनुसार सुरुमा शिव मन्दिर बनाउने योजना भए पनि पछि धाम निर्माण गरिएको उनले बताए । २२ फिट अग्लो शिवलिङ्गसहित स–साना नन्दी (वहान), सूर्य, गणेश, नारायण, हनुमान, काली, सन्तोषीमाता, विष्णु र सरस्वतीको मूर्ति (प्रतिमा) राखेर धाम निर्माण गरेका हुन् ।
जलदेवी सामुदायीक वनको अनुरोधमा धाम निर्माण गरेको भन्दै उनले यस धामले यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । भरतपुर महानगरपालिका–१ र २ का वडाध्यक्ष केशव महर्जन, मनोज रानाभाट, नेपाली कांग्रेसका पूर्वसभापति विकास कोइराला, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस्ता धार्मिकस्थलको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनको गन्तव्य बन्ने बताए ।
यसले यहाँको महत्व बढाउने भन्दै धार्मिक क्षेत्रको संरक्षण गर्दै धार्मिक पर्यटनका रूपमा विकास गर्ने योजना बनाउन आवश्यक रहेको बताए।जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा धामले ठूलो सहयोग पुग्ने जिकिर गरे । उनले सामुदायिक वन क्षेत्रभित्रको पाँच प्रतिशत वा पाँच हेक्टरसम्मको जग्गा पर्यापर्यटनका रूपमा प्रवर्द्धन गर्ने योजनाअनुसार धाम निर्माणका लागि आफूहरूले सहयोग गरेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij