भरतपुर : भरतपुर महानगरले आज विभिन्न विधाका ७ जना साहित्यकारहरूलाई नगदसहित पुरस्कृत गरेको छ।भरतपुर महानगरप्रज्ञा प्रतिष्ठानद्वारा स्थापना गरिएका विभिन्न सम्मान तथा पुरस्कारहरू प्रदान गरिएको हो ।
प्रतिष्ठानका कुलपति तथा महानगर प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उपकुलपति इन्द्रप्रसाद रेग्मीले स्रष्टाहरूलाई नगद राशि, दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो । प्रतिष्ठानले रु १ लाख ७८ रुपैयाको नारायणी प्रज्ञा सम्मान भरतपुर १२ निवासी प्राध्यापक कपिल अज्ञातलाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा प्राध्यापन गर्नुहुने अज्ञात विगत ४० वर्ष अघिदेखि नेपाली भाषा, साहित्य, समालोचना र अनुसन्धानमा क्रियाशील हुनुहुन्थ्यो ।

यसैगरी भरतपुर ९ का प्रा.डा. देवीप्रसाद कंडेललाई ५० हजार ७८ रूपैया राशिको कृष्ण बम मल्ल प्रज्ञा सम्मान प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाटै निवृत्त प्रा.डा. कडेल इतिहास, संस्कृति तथा समाजशास्त्रका अन्वेषक हुन् । यसैगरी मूर्तिकलामा विशेष योगदान दिनुहुने भरतपुर ९ निवासी सूर्य मध्यरातलाई रु ५० हजार ७८ रुपैया राशि सहित भरतपुर प्रज्ञा सम्मान प्रदान गरिएको छ । सोही समारोहमा रमेश प्रभातको “अलिकति फरक कुरा” निसमालोचना सङ्ग्रह, गणेश श्रमणको “आगो लिएर गाउँ गाउँमा” कवितासङ्ग्रह र टीकाराम रेग्मीको “बाँसुरीको धून” कथा सङ्ग्रहलाई भरतपुर प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । यसैगरी खिमा रिजालको “अन्तर्मनका रङ्गहरू” निबन्धसङ्ग्रह वागीश्वरी प्रज्ञा पुरस्कार प्रदान गरिएको छ । यी पुरस्कारका राशि जनही २५ हजार ७८ रहेको छ ।
सो अवसरमा महानगर प्रमुख प्रतिष्ठानका कुलपति रेनु दाहालले विकास निर्माणसँगै महानगरले साहित्य कलाको क्षेत्रको प्रवर्धनमा पनि अघि बढेको बताउनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले साहित्य क्षेत्रमा क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्नु महानगरको खुसी र गौरवको कुरा भएको बताउनुभयो।
पुरस्कृतहरू मध्यबाट साहित्यकार कपिल अज्ञातले यो सम्मानले जिम्मेवारी थपिएको बताउँदै साहित्यतर्फ अग्रसर हुने थप प्रेरणा जागेको बताउनुभयो। प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको सदस्य सचिव बालकृष्ण थपलियाले सञ्चालन गर्नुभएको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij