चितवन : भरतपुर महानगरपालिका वडा नं–२५, छाता चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुद्धनगरबाट अमृत चोकतर्फ गइरहेको ना. ५१ प. २०४० नम्बरको मोटरसाइकल र देवीस्थानबाट मुख्य सडकमा निस्किँदै गरेको बागमती प्रदेश ०६–००२ प. १३०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।दुर्घटनामा भरतपुर–२७ निवासी ३९ वर्षीय टेकबहादुर पुलामीमगर र भरतपुर–२० निवासी ३५ वर्षीय विशाल भट्टराईको ज्यान गएको छपुलामीमगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज (सिएसएस) भरतपुरमा र भट्टराईको भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेमा २० वर्षीय सफल पौडेल, २७ वर्षीया केशरी पुलामीमगर र १७ वर्षीया सुजिता पुलामीमगर रहेका छन्। घाइतेमध्ये केशरीको अवस्था गम्भीर रहेको र उनको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। (सांकेतिक तस्वीर)