Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

भरतपुरको गोन्द्राङ–पुलचोक ६ लेन सडक खण्डको उद्घाटनगर्न प्रधानमन्त्री ओली चितवन आउने

भरतपुरको गोन्द्राङ–पुलचोक ६ लेन सडक खण्डको उद्घाटनगर्न प्रधानमन्त्री ओली चितवन आउने

चितवन : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका क्षेत्रभित्र पर्ने गोन्द्राङदेखि पुलचोकसम्मको ६ लेनमा विस्तार गरिएको सडक खण्डको उद्घाटन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वैशाख ५ गते गर्ने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको डिभिजन सडक कार्यालय, भरतपुरको समन्वयमा निर्माण सम्पन्न गरिएको यो खण्डको उद्घाटन भरतपुर विमानस्थल अगाडी बिहान ११ बजे एक विशेष समारोहका बीच गरिने छ।

लागत, निर्माण कम्पनी र समयावधि एक अर्ब १२ करोड रूपैयाँमा काम सक्ने गरी सडक विस्तारको जिम्मा इन्डो सगुन जेभीले पाएको हो । निर्माणका क्रममा लागत बढेर एक अर्ब ७६ करोड रूपैयाँ पुगेको छ । सडक विस्तारपछि भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । सडकको दायाँ–बायाँ ११.५/११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ छ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ रहेको छ । एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको हो ।

स्थानीयस्तरमा विकासको आशा सडक विस्तारसँगै भरतपुर महानगरको ट्राफिक व्यवस्थापन, सवारी साधनको चाप र जनसाधारणको आवागमनमा सहजता आउने विश्वास गरिएको छ। ६ लेन सडकसँगै फुटपाथ, ड्रेनेज, स्ट्रीट लाइट र संकेत चिन्हहरू समेत व्यवस्थित गरिएको छ।भरतपुरको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरले ट्राफिक लाइट जडानको काम समेत सुरु गरिसकेको छ ।

स्थानीय प्रतिनिधिहरूले भरतपुर प्रवेशद्वारका रूपमा रहेको यस क्षेत्रको सडक स्तरोन्नति विकासको महत्वपूर्ण पाइला भएको बताएका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै अन्य मन्त्रीहरू, सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दल, व्यवसायी, पत्रकार, सामाजिक अभियन्ता लगायतको उपस्थिति रहने जनाइएको छ।

जनजीवन र व्यापारमा सकारात्मक असर यो ६ लेनको सडक निर्माणले भरतपुरबासीलाई मात्र नभई समग्र चितवन र पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेहरूलाई समेत राहत दिनेछ। यो सडक खण्ड विकासले क्षेत्रीय व्यापार, आवागमन, बसोबास, र यातायात सेवामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij