काठमाडौँ : शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले ओपनिङ व्यवसाय सुखद गर्न सफल भएको छ । नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको मल्टी स्टार फिल्मलाई दर्शकबाट प्रतिक्रिया समेत सकारात्मक मिलेको छ।
शुक्रबार उत्साहजनक दर्शक पाएको फिल्मले शनिबार बिहानैबाट हलहरूमा दर्शकको भीड लागेको छ । कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, लबिम मल, बिएसआर गंगबु, सिटी स्क्वायर, क्युएफएक्स भक्तपुर, के एल टावरलगायत देशभरका अन्य हलहरूमा पनि दर्शकको चाप रहेको बताइन्छ ।
फिल्ममा दर्शक देखिएपछि अभिनेता प्रदीप खड्का, अभिनेत्री दिव्या रायमाझी लगायत कलाकार र निर्माण युनिट उपत्यकाको हलहलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् । हलमा कलाकारसँग दर्शक फोटो र शेल्फिमा समेत रमाएका छन् ।
निर्देशक कृषा चौलागाईंले फिल्मप्रति विश्वास भएको र दर्शकको सकारात्मक प्रतिक्रियाले झनै खुसी बनाएको बताइन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री दिव्या रायमाझीले पनि पिताम्बर दर्शकले रुचाएको प्रतिक्रिया दिए । उनीहरूले दर्शकको साथले हौसला दिएको बताए ।
दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यादेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराई समेतको अभिनय रहेको फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समीर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको सङ्गीत, हिमाल केसीको द्वन्द्व छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij