काठमाडौं : आइतबार काठमाडौंको माइतीघर–बानेश्यर क्षेत्रको दृश्य अलि फरक थियो । गत बुधवारदेखि आन्दोलन गरिरहेका शिक्षकहरुसँगसँगै डाक्टर र उज्यालो नेपालका अभियान्ताहरु आ–आफनो मागसहित सडकमा उत्रिए ।कोही भिक्षुको भेषमा त कोही डाक्टरको भेषमा अनी कोही शिक्षकको पोशाकमा । फरक फरक भेषमा माइतीघर आएका उनीहरुको माग पनि फरक फरक नै थियो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु माइतीघरमै थिए ।शिक्षकसँगसँगै नेपाल मेडिकल कलेजका डाक्टरहरु आफूहरूमाथि श्रम शोषण भएको भन्दै प्रदर्शनमा उत्रिए ।
डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिककरण उत्तिकै रहेको लगायत विभिन्न माग राखेका थिए ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै उज्यालो नेपालका अभियान्तहरु माइतीघर पुगे । उनीहरुको प्रदर्शन बबरमहल हुदै बानेश्वरसम्म पुग्यो ।
उनीहरुले ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ, पुरा नेपाल झलमल छ, जनताको मनमा कुलमान छ, कुलमान हाम्रो शान हो देश र जनताको मान हो’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोणसभामा परिणत भएको थियो ।कुलमानको पुनर्वाहालीको माग गर्दै सडकमा आउने उज्यालो नेपालका अभियान्ताहरुमा भिक्षुहरु पनि थिए ।
शिक्षक र डाक्टरहरु नै आन्दोलनमा उत्रिदा एकातिर सिंगो सरकारमाथि दबाब पुग्ने देखिन्छ भने अर्कोतिर सर्वोच्च अदालतले समेत अन्तरिम आदेश दिन अस्वीकार गरेको अवस्थामा घिसिङका पक्षमा जनता सडकमा उत्रिदा सरकारलाई अप्ठेरो पर्ने देखिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij