Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गभर्नर नियुक्तिमा खेलै–खेल : देउवाको लिस्टमा ४ परे, ओलीको गोजीमा कसको नाम ?

गभर्नर नियुक्तिमा खेलै–खेल : देउवाको लिस्टमा ४ परे, ओलीको गोजीमा कसको नाम ?

काठमाण्डौ : नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिमा नयाँ नयाँ खेलहरुको पर्दाफास भइरहेको छ । यो क्रममा बिचौलियाहरुले विभिन्न गेम प्लान बनाएर आफूनिकटका मानिसलाई गभर्नर बनाउने अभियानलाई जारी नै राखेका छन् ।

मुलुकका प्रमुख नियामक निकायहरुमा आफूअनुकुलको पात्र ल्याई स्वार्थ सिद्ध गर्ने उनीहरुको गेमप्लान रहेको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार नै गभर्नर नियुक्तिको खेललाई निश्कर्षमा लैजाने प्रयास गरेका थिए । तर, स्वार्थ समूहहरुले अगाडि सारेका गभर्नरको पक्षमा निकै ठूलो राजनीतिक र व्यापारिक शक्ति प्रयोग भएपछि खेलमा नयाँ ट्वीस्ट आएको हो । यहीकारण लगभग बालुवाटारले फाइनल गरिसकेको गभर्नरको नाम समेत होल्ड गर्नुपर्ने अवस्था सिर्जना भएको स्रोत दाबी गर्छ ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीले सोमबार बिहान बालुवाटार प्रवेश गरी आफूनिकटका व्यक्तिलाई गभर्नर बनाउनुपर्ने भन्दै ओलीलाई दवाब दिएका थिए । उनीहरुले सो क्रममा केही नामहरु लिई प्राथमिकताका आधारमा गभर्नर बनाउन सकिने र त्यसमा आफूहरुको सहमति हुने भन्दै ‘आजै काम टुंग्याउनुपर्छ’ भनेर दवाब दिएका थिए । बिहानदेखि गएका उनीहरु दिउँसोसम्म र पुनः साँझ समेत बालुवाटारमै बसेर सोही दिनको मन्त्रिपरिषदको बैठकले गभर्नरको नाम फाइनल गर्नुपर्ने अडान लिएका थिए ।

कांग्रेस सभापति देउवाको सोही दिन गभर्नर नियुक्त गर्नुपर्ने अडानकै कारण मन्त्रिपरिषद बैठक बसिरहेकै बेला गभर्नर छनौट तथा सिफारिस समितिका दुई सदस्यलाई राति बालुवाटार डाकिएको थियो ।

छनौट समितिका सदस्यलाई राति नै बालुवाटर डाकेर देउवाको कुरामा तदारुकता देखाएको सन्देश दिन खोजेका प्रधानमन्त्री भने आफूनिकटका व्यक्तिलाई गभर्नर बनाउन चाहन्थे, जसका कारण उनी सो दिन नियुक्तिको कुरा टुंग्याउने पक्षमा थिएनन् । प्रधानमन्त्रीकै आनाकानीका कारण सो दिन शेरबहादुर देउवाले दिएको दवाबले कुनै परिणाम निकाल्न नसकेको स्रोत बताउँछ ।

देउवा कसलाई गभर्नर बनाउन चाहन्छन् ?

कांग्रेसस्थित उच्च स्रोतहरुकाअनुसार स्वार्थ समूहहरुको समेत दवाब र प्रभाव रहेका कारण देउवाले गभर्नर बनाउने पात्रहरुको सूचीको पहिलो नम्बरमा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री रहेका छन् । बिचौलियाहरुको समूहले ‘क्षेत्री उम्मेद्वारमध्येकै अब्बल र अर्थतन्त्रलाई चाहिएको व्यक्ति’ भन्दै देउवालाई कन्भिन्स गरेका छन् । तर, क्षेत्रीलाई राम्रोसँग चिनेकाहरुको भनाईलाई आधार मान्ने हो भने उनी राम्रोसँग अर्थतन्त्र बुझेका व्यक्ति नै होइनन् । न त उनीसँग वित्त तथा मौद्रिक नीति निर्माणको तहमा रहेर काम गरेको अनुभव नै छ । वित्त र मौद्रिक अर्थतन्त्रको विषयमा उनमा कुनै ज्ञान नै छैन । तर, यो यथार्थलाई ट्वीस्ट गरी स्वार्थ समूहले क्षेत्रीलाई बोकेको र उनको नाममा खुलेर पैसा खर्च गर्ने चाँजोपाजो मिलाइएको छ ।

‘क्षेत्री पनि अर्थशास्त्रका स्नातकोत्तर हुन्, उनी संकटमा फसेको अर्थतन्त्रलाई पार लगाउनसक्ने व्यक्ति भन्दै गलत भाष्य निर्माण गरिएको छ ।’ स्रोतले भन्यो । तर गभर्नर बन्नका लागि वित्तीय, आर्थिक र मौद्रिक क्षेत्रको जानकार हुनुपर्छ । यदि बिचौलिया समूहले पैसाकै बलमा क्षेत्रीको नियुक्ति सम्भव बनायो भने राष्ट्रबैंकजस्तो मौद्रिक र आर्थिक विषयको गहिरो सुझबुझ हुने क्षेत्रमा उनको नियुक्ति गम्भीर विवादमा फस्ने सम्भावना देखिन्छ । उनको सम्भावित नियुक्तिलाई चुनौति दिनेगरी कतिपयले सुरुवातबाटै अदालत गुहार्न सक्छन् ।

बिचौलिया समूहले क्षेत्रीलाई गभर्नर बनाएर डिजीटल बैंक र एसेट म्यानेजमेन्ट कम्पनीको लाइसेन्स फुत्काउने योजना बनाएको छ । ‘नियुक्तिपछि पनि विभिन्न नीतिहरुमा क्षेत्रीमार्फत खेलेर दूनो सोझ्याउन चाहन्छ ।’ स्रोतले भन्यो ।

यस्तै, देउवाले नेपाली कांग्रेसबाट गभर्नरको सूचीमा राखेको दोश्रो नाम हो: रविन्द्र पाण्डे । उनलाई ब्याकिङ गर्ने काम रामेश्वर थापाको समूह र आईएमई समूहले गरिरहेको छ । क्षेत्रीको विषयमा धेरै विवाद भयो भन्ने भाष्य निर्माण गरेर थापा र ढकाल समूह राष्ट्रबैंककै क्याडर तथा हाल सञ्चालक समेत रहेका पाण्डेलाई गभर्नर बनाउन चाहन्छ ।

क्षेत्री र पाण्डेमध्ये कुनै एक पात्र गभर्नरको रुपमा आउनसक्ने आँकलन गर्दै त्यसका लागि आवश्यक सबै पृष्ठभूमिहरु तयार भइरहेको स्रोतहरु बताउँछन् । ६५ वर्ष उमेर कटिसकेका क्षेत्री र पाण्डेमध्ये एकजनालाई गभर्नरमा ल्याउन सकिने सम्भावना देखेर अर्थमन्त्रालयले गत सोमबार आफू सम्बद्ध सार्वजनिक निकायको प्रमुख वा सञ्चालक बन्नका लागि आवश्यक उमेरको मापदण्डबाट साबिकको ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था नै हटाएको चर्चा हुने गरेको छ । बिचौलियाहरुको प्रयास र नेताहरुको कार्यशैलीलाई नजिकबाट नियाल्दा त्यस्तै देखिन्छ पनि ।

देउवाको सूचीमा क्षेत्री र पाण्डेबाहेक अर्को दाबेदारको रुपमा ज्ञानेन्द्र ढुंगानाको नाम पनि परेको छ । कांग्रेसका प्रभावशाली नेताहरुको ठूलो समूह भने ज्ञानेन्द्रलाई नै गभर्नर बनाउनुपर्ने भन्दै लागिपरेको छ ।

देउवाको लिस्टमा पार्टीबाट गभर्नरका लागि समर्थन हुनसक्ने चौथो नामको रुपमा डा. गुणाकर भट्ट रहेको छ । उनको पक्षमा डेडलधुरा र सो क्षेत्रका नेता, कार्यकर्ताले चर्को दवाब दिइरहेका छन् ।

ओलीको भित्री चाहना के हो ?

उच्च स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने स्वार्थ र बिचौलिया समूहहरुलाई समेत नचिढ्याई कांग्रेस-एमालेको साझा उम्मेद्वारको रुपमा ओलीले अझै पनि राष्ट्रबैंकको डेपुटी गभर्नर डा. निलम ढुंगानालाई नै अगाडि बढाउन चाहेका छन् । आफूले सरकारको नेतृत्व गरेकै समयमा 'राष्ट्रबैंकमा पहिलो महिला गभर्नर'को इतिहास बनाउने भन्दै ओलीले भरसक देउवालाई कन्भिन्स गरेरै भए पनि र स्वार्थ समूहहरुलाई समेत प्रयोग गरी साम, दाम, दण्डभेदको नीति अपनाएर निलमलाई गभर्नर बनाउन चाहेका स्रोत दाबी गर्छ । तर, ओलीको प्रस्ताव र साम, दाम, दण्ड भेदको नीतिले काम गरेन भने चाहिँ देउवाले अगाडि सारेको पात्र नै गभर्नर बन्नेछन् ।

गभर्नर कथम्कदाचित एमालेले पाएको खण्डमा अर्थमन्त्री विष्णु पौडेलमार्फत दवाब सिर्जना गरी खेलमा बाजी मार्ने योजनाका साथ डा. प्रकाश श्रेष्ठको दौडधूप पनि कम छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij