पर्सा : चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।
गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा एक खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताउनुभयो ।
“अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ”, उहाँले भन्नुभयो । कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा ४४ अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवको आठ महिनामा ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।यस्तै, चालु आवको आठ महिनामा २५ अर्ब ३० करोड रुपैयाँ मूल्यको दुई लाख ९० हजार तीन सय ८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
चालु आवको आठ महिनामा २४ अर्ब पाँच करोड रुपैयाँ मूल्य बराबरको २१ करोड ४२ हजार सात सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट चार अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।गत आवको आठ महिनामा भने १९ अर्ब ५२ करोड रुपैयाँको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij