Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

‘द्रौपदी’ की आश्विनी : हिरोइन बन्न बाँकी नै छ !

‘द्रौपदी’ की आश्विनी : हिरोइन बन्न बाँकी नै छ !

काठमाडौँ : शुक्रबार नेपाली चलचित्र ‘द्रौपदी’ रिलिज भएको छ । यो चलचित्रको प्रमुख भूमिकामा रहेकी आश्विनी शाही ‘अडिसन’मार्फत छानिएकी थिइन् ।‘द्रौपदी’ मार्फत शाहीले फिल्म अभिनेतृका रूपमा पहिलो पाइला टेकेकी हुन् । त्यसअघि उनले फिल्ममा आउनेबारे योजना बनाएकी थिइनन् ।

निर्माण युनिटले कलाकार खोजी गर्दै ‘अडिसन’ राखेको थियो । ४ सयभन्दा बढी प्रतिस्पर्धीलाई पन्छाएर शाही मुख्य भूमिकामा छानिएकी हुन् ।‘फिल्मले अडिसन मार्फत कलाकार छानिरहेको मिडियामार्फत थाहा भयो’, शाहीले भनिन्, ‘कतै अभिनयको अवसर मिलिहाल्छ कि भनेर गएकी थिएँ, सफल भएँ ।’अडिसनमा छानिएपछि अभिनयका लागि केही समय प्रशिक्षणसमेत लिएको शाहीले सुनाइन् ।

ashwini shahi (1)

‘द्रौपदी’ बहुपति प्रथाको कथामा निर्माण भएको फिल्म हो । यसकै मुख्य भूमिकामा शाही छिन् भने अन्य पात्र उनको वरिपरि घुमेका छन् ।

फिल्ममा शाही कर्णालीकी महिलाका रूपमा देखा परेकी छन् । ‘अहिले गाउँले परिवेशका कथामा फिल्म बनिरहेका छन् । त्यस्ता कथा र पात्रले समेत दर्शकको मन जितिरहेको छ’, उनले भनिन्, ‘हाम्रो फिल्म पनि गाउँको अर्ग्यानिक कथामा बनेको हो । कथा र मेरो अभिनय दुवैले दर्शकको मन छुन्छ ।’

शाही हुम्लामा जन्मिए पनि काठमाडौँमै हुर्केबढेकी हुन् । उनलाई गाउँको उकालो ओरालोको त्यति अनुभव छैन । त्यसैले पनि कर्णालीमा फिल्म छायाङ्कन क्रममा उनी लडेर घाइतेसमेत भएकी थिइन् ।

सहरमा हुर्किएकाले पहाडी क्षेत्रमा फिल्म छायाङ्कनमा केही कठिनाइ भए पनि दर्शकले आफूलाई फिल्ममा कर्णालीकै बासिन्दा झैँ पाउने शाही बताउँछिन् । आफू नेपाली भएकाले नेपाली क्यारेक्टर जहाँ हुर्किए पनि सुहाउने उनको भनाइ छ ।

शाहीका अनुसार फिल्मले कर्णालीको बहुपति प्रथाको अलावा त्यहाँको सुखदुःख समेत उठाएको छ । फिल्मले मानिसलाई रुवाउने, हँसाउने गर्दै अन्तिममा एउटा राम्रो सन्देश दिने उनको भनाइ छ ।

फिल्मको ट्रेलर र गीतमा उनको उपस्थिति राम्रो छ । मिडियामा पनि उनी छाइरहेकी छन् । ‘फिल्मको ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएका कारण पनि मिडियाको फोकसमा पर्न सकेकी हुँ’, उनले भनिन्, ‘पहिलो फिल्मबाटै नसोचेको चर्चा पाउँदा दङ्ग छु ।’

फिल्मको ट्रेलर हेरेर धेरैबाट राम्रो प्रतिक्रिया पाएको बताउने शाही फिल्म रिलिजपछि त्योभन्दा राम्रो प्रतिक्रिया मिल्ने बताउँछिन् । दर्शकबाट आउने प्रतिक्रिया अनुसार आफूलाई अगाडि बढाउने सोचमा छिन् उनी । शाही भन्छिन्, ‘फिल्म धेरैभन्दा धेरैले हेरुन् । मेरो अभिनयको पनि प्रशस्तै प्रतिक्रिया मिलोस् भन्ने चाहना हो ।’

ashwini shahi (7)

  • अभिनयमा रुचि

शाहीको पहिलो फिल्म ‘द्रौपदी’ भए पनि कलाक्षेत्रका लागि भने नयाँ होइनन् । सौन्दर्य प्रतियोगिता, थिएटर हुँदै करिब २ दर्जन म्युजिक भिडियोमा उनले अभिनय गरिसकेकी छन् ।

शाहीले पहिलो म्युजिक भिडियो गायक शिव परियारको ‘यादहरू..’मा अभिनय गरेकी थिइन् । सुरुवातका लागि विना पारिश्रमिक अभिनय गरेकी उनले यो भिडियोको चर्चा र सफलताले थुप्रै भिडियो हात पारिन् । ‘तिमीविना’, ‘माया लुकाउन खोज्दा’, र ‘तिमीलाई हेरेर’लगायत उनी अभिनीत भिडियो चर्चित छन् । आर्टिस्ट नेपालमार्फत केही मोडलिङ गरेको अनुभव समेत छ उनीसँग ।

अभिनय उनको सानैदेखि रुचिको विषय हो । सानोमा उनी निकै राम्रो डान्स गर्थिन् । यद्यपि फिल्मको हिरोइन बन्छु भन्ने सोच उनको मनमा एक प्रतिशत पनि थिएन । म्युजिक भिडियो अभिनय गर्दै जाँदा हिरोइन बन्ने चाहना आफूमा पलाएको उनी बताउँछिन् ।

‘भिडियोका लागि डान्स पनि सिक्न थालेँ । डान्सको भिडियोहरू बनाउँदा अभिनयमा पनि रुचि पलाउन थाल्यो’, उनले भनिन्, ‘अरूको गीतमा कभर अभिनय गरेर भिडियो बनाउन थालेँ ।’

म्युजिक भिडियोमा प्रवेश गरिसकेपछि उनले हिरोइन बन्ने चाहना राख्न थालेकी हुन् । ‘द्रौपदी’मा मुख्य भूमिका निर्वाह गरे पनि उनी आफू हिरोइन भएँ भन्ने महसुस गर्न नपाएको उनले बताइन् ।

कारण खोल्दै शाहीले भनिन्, ‘पहिलो फिल्म भर्खर आएको छ । यसपछि अझै राम्रो काम गर्नुपर्छ ।’ अन्य केही फिल्म आएपछि मात्र बल्ल आफू हिरोइन बनेँ भन्ने पक्षमा रहेको उनी बताउँछिन् ।

ashwini shahi (2)

  • सारीमा राम्री

फिल्ममा डेब्यु गर्नु नौलो कुरो होइन । यसमा टिकिरहन र बिकिरहन गाह्रो छ भन्ने शिक्षा उनले अग्रजबाट पाएकी छन् । यद्यपि आफ्नो काममा मेहनत गरेमा राम्रो गर्न सकिने उनको विश्वास छ ।

‘आगामी दिनमा अभिनयमा म धेरै मेहनत गर्नेछु’, शाहीले भनिन्, ‘अगाडि बढ्न सक्छु कि सक्दिनँ, फिल्म मिल्छ कि मिल्दैन भन्ने भविष्यको कुरा हो । बिक्न र टिक्नचाहिँ सक्दो मेहनत गर्छु ।’

अनुशासनका साथ अगाडि बढ्ने सोचाइ राखेकी उनलाई घर परिवारबाट पनि राम्रो साथ छ । परिवारकै समर्थनका कारण आफू अहिलेको अवस्थासम्म आउन सफल रहेको उनले सुनाइन् ।शाहीका बुबा आर्मीमा छन् भने आमा गृहिणी हुन् । अभिनयको अलावा फेसनमा समेत रुचि राख्ने उनी फेसनले मानिसलाई राम्रो देखाउने बताउँछिन् ।

शाहीलाई मनपर्ने पहिरन सारी हो । भन्छिन्, ‘सारीमा नारी राम्रो देखिन्छ ।’ उनी सजिलोका लागि क्याजुअल पहिरन बढी प्रयोग गर्छिन् । अभिनय बाहेक उनी चित्रकलामा रुचि राख्छिन् । एकपछि अर्को फिल्ममा चलेका अभिनेतासँग काम गर्ने रहर उनमा छ । ‘त्यसले आफूलाई अभिनयमा खार्न सकिन्छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट