Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

नियमित र प्रभावकारी रूपमा बजार अनुगमन गरिनुपर्नेमा जोड

नियमित र प्रभावकारी रूपमा बजार अनुगमन गरिनुपर्नेमा जोड

नुवाकोट : उपभोक्ता अधिकार सचेतनामा जोड दिँदै नुवाकोटको विदुरमा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । उपभोक्ताका अधिकारका सम्बन्धमा अध्ययन जरुरी भइसकेको कार्यक्रमका सहभागीहरूले वताउनु भयो ।

“स्वच्छ र प्रतिस्पर्धी बजार,उपभोक्ता संरक्षणको दिगो अधिकार“ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा ६३औ विश्व उपभोक्ता अधिकार दिवस २०८१ मनाइएको हो । कार्यक्रममा सहभागीहरूले उपभोक्ताहरूले नेपालको कानुन र नियम अनुसार अधिकार सचेतना नपाएको र यसका लागि क्रियाशीलता बढोत्तरी गर्नु पर्ने निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरीले उपभोक्ताहरूले शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु सवैतिर प्रभावित भइरहेको वताउनु भयो । उहाँले गुणस्तरीयताका सम्बन्धमा नियमित र प्रभावकारी रूपमा बजार अनुगमन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला संयुक्त बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले नियम, विधि र कानुन अनुसार उपभोक्ताहरूको अधिकार दिलाउन सम्बन्धित निकाय क्रियाशील रहेको र केही गलत प्रवृत्तिका व्यक्ति तथा समूहले उपभोक्ताहरूको अधिकारमाथि समस्या पारिरहेको दाबी गर्नुभयो । उहाँले बजार अनुगमनलाई अझै प्रभावकारी वनाई उपभोक्तालाई सचेत बनाउन क्रियाशील भएको वताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष रामकृष्ण राज भण्डारी, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डित, उपभोक्ता अधिकारकर्मी हरिशरण गजुरेल, महिला उद्यमी गीता अमात्यलगायतले उपभोक्ता अधिकार प्रवर्द्धनमा सबै एकजुट हुनु पर्ने र दैनिक उपभोग्य वस्तु तथा अन्य सामाग्रीमा उपभोक्ताहरू गुणस्तरीयता तथा मूल्यमा ठगिन नहुनेमा जोड दिनु भयो । कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले उपभोक्ताहरुलाई सचेतना वृद्धिका कार्यक्रमहरू भइरहेको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट