Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

नेपाली सेनाको प्रदेशस्तरीय बृहत् विपद् प्रतिकार्यको नमुना अभ्यास म्याग्दीमा

नेपाली सेनाको प्रदेशस्तरीय बृहत् विपद् प्रतिकार्यको नमुना अभ्यास म्याग्दीमा

म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिकामा शनिवार नेपाली सेनाले प्रदेशस्तरीय संयुक्त बृहत् विपद् प्रतिकार्यको नमुना अभ्यास सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकारको सहयोग र पश्चिम पृतना हेडक्वार्टर पोखराको निर्देशनमा श्री नं. २३ बाहिनी अड्डा बागलुङद्वारा मङ्गला–२, लाम्पाटा र ५ नम्बर वडा हाँडे भीरमा नमुना अभ्यास गरिएको हो ।

समुदाय स्तरमा हुन सक्ने प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी, भूकम्प, बाढी पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरू भएमा खोज, उद्धार, व्यवस्थापन तथा राहत वितरणको कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नमुना अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ । कार्यक्रममा विपद्का घटनाको उचित तरिकाले व्यवस्थापन मिलाउनको लागि पूर्व तयारीस्वरुप कृत्रिम नमुनाका अभ्यासहरू गरिएको थियो ।

प्रदेशस्तरीय बृहत् विपद् प्रतिकार्य नमुना अभ्यासअन्तर्गत भूकम्पको समयमा बच्ने तरिका, बाढी तथा पहिरोमा फसेकाहरूको खोज तथा उद्धार, नदीले बगाएकालाई डोरीको सहायताले उद्धार, बिजुलीको पोलमा लागेको आगो निभाउने तरिकाहरू प्रस्तुत गरिएको थियो । यसै गरी बाटोमा हिँडिरहेको समयमा माथिबाट पहिरो खसेर पुरिएका, सवारी दुर्घटना परेकाहरूको उद्धार, भीरमा अड्किएका, आगोलागिमा परेका घाइतेको उपचार, राहत वितरण र अस्थायी शिविर सञ्चालन जस्ता अभ्यासहरू गरिएको थियो ।

नमुना अभ्यास कार्यक्रममा नेपाली सेनाको टोलीले विभिन्न शीर्षकका १० वटा कृत्रिम घटनाहरू प्रदर्शन गरेका थिए । हिम पहिरो, बाढी तथा भू–क्षय, नदी कटान, आगलागी, भूकम्प, नदीमा डुब्ने, भीरमा लड्ने तथा सडक दुर्घटनाको कारणले म्याग्दी उच्च जोखिममा रहेकाले समुदायमा सचेतनासहित क्षति कम गर्न नमुना अभ्यास कार्यक्रम सञ्चालन गरिएको नेपाली सेनाको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणमा प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गण्डकी प्रदेश बाढी पहिरो, भू–क्षय, डुबान, आगलागी, चट्याङ, हिम पहिरोलगायत प्राकृतिक प्रकोपबाट उच्च जोखिममा रहेको बताउँदै जोखिमयुक्त क्षेत्रको पहिचान गरेर आवश्यक पूर्व तयारी र व्यवस्थापनमा सुरक्षा निकाय तथा सरोकारवालासँग सहकार्य र समन्वयलाई निरन्तरता दिइएको बताउनुभयो ।

नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीले विपद् व्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीहरूको क्षमता अभिवृद्धिका साथै समुदायमा सचेतना फैलाउन प्रदेशस्तरीय बृहत् विपद् प्रतिकार्य नमुना अभ्यास सञ्चालनमा जोड दिइएको जानकारी दिनुभयो । श्री नं। २३ बाहिनी अड्डा बागलुङका बाहिनी पति जगतबहादुर पौडेलले नमुना अभ्यासको तयारीमा खटिने स्थानीय जनप्रतिनिधि र उद्धारमा खटिनेहरूलाई विपद् व्यवस्थापन सम्बन्धी विषयमा तालिम प्रदान गरिएको बताउनुभयो ।

सोही अवसरमा मङ्गला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले विपद्को पूर्व तयारी अभ्यासले क्षति न्यूनीकरण हुने भएकाले गाउँपालिकाको केन्द्र बाबिया चौर आसपास सहितका क्षेत्रहरू म्याग्दी नदी कटानको उच्च जोखिममा रहेकाले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खामबहादुर गर्बुजा, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित सुरक्षा निकायको टोलीले नमुना अभ्यास कार्यक्रम अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट