Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसइईका लागि नवलपुरमा तयारी पूरा, २८ परीक्षा केन्द्र निर्धारण

एसइईका लागि नवलपुरमा तयारी पूरा, २८ परीक्षा केन्द्र निर्धारण

नवलपुर : यही चैत ७ बाट सुरू हुने एसइई परीक्षा, २०८१ को सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले जनाएको छ ।परीक्षाका लागि केन्द्र निर्धारण, सुरक्षा प्रबन्ध तथा सम्बन्धित केन्द्रसम्म उत्तरपुस्तिकाहरु पु¥याउने काम सकिएको इकाइ प्रमुख दीपेन्द्रराज श्रेष्ठले बताए । उनका अनुसार विद्यार्थीहरुलाई पायक पर्ने हिसाबले आउँदो एसइईका लागि जिल्लामा २८ परीक्षा केन्द्र बनाइएको छ । जसमा पालिकागतरुपमा गैँडाकोटमा चार, देवचुलीमा पाँच, कावासोतीमा सात, मध्यविन्दुमा पाँच, विनयी त्रिवेणीमा दुई, हुप्सेकोटमा तीन, बौदिकालीमा एक र बुलिङटार गाउँ पालिकामा एक परीक्षा केन्द्र निर्धारण गरिएको श्रेष्ठले जानकारी दिए ।

परीक्षा केन्द्र रहेका बिद्यालयहरुमा डेढगाउँ मावि डेडगाउँ, त्रिभुवन मावि बुलिङ, कालिका सेकेन्डरी स्कुल, जनक मावि, नेपाल राष्ट्रिय शमशेर आदर्श मावि गैँडाकोट र लक्ष्मी सेकेन्डरी स्कुल अमरापुरी रहेका छन् । यस्तै, वरचुली सेकेन्डरी स्कुल फाराम, देवचुली मावि रजहर, नेपाल मावि केउरेनी, जनज्योति मावि र जनज्योति नमुना मावि प्रगतिनगरलाई परीक्षा केन्द्र बनाइएको छ ।

त्यसरी नै अन्य परीक्षा केन्द्रमा शिव सेकेन्डरी स्कुल, शहीद स्मृति मावि शिवबस्ती, ज्ञानोदय मावि कावासोती, जीवनज्योति मावि कावासोती–३, जनता मावि शहीदनगर, जनता मावि त्रिभुवनटार डण्डा र सरस्वती मावि गोछडा रहेका छन् । त्यस्तै जनता मावि बेलुवा, सरस्वती संस्कृत तथा साधारण मावि गिरूवारी, हुप्सेकोट मावि मौलाथर, नवलपुर सेकेन्डरी स्कुल, नवजागर मावि चोरमारा, जनता मावि मङ्गलचौर तथा जनता सेकेन्डरी स्कुल अरूणखोलालाई परीक्षा केन्द्र बनाइएको छ ।

त्यस्तै, नारायणी गण्डकी सेकेन्डरी स्कुल त्रिवेणीधाम र भानुदय मावि दुम्किबासलाई एसइई परीक्षा केन्द्र तोकिएको छ ।यसवर्ष नवलपरासी पूर्व नवलपुरमा नियमिततर्फ पाँच हजार आठ सय २६ तथा ग्रेड वृद्धिका छ सय ५६ गरी कुल छ हजार चार सय ८२ विद्यार्थी एसइई परीक्षामा सहभागी रहने छन् । जसमा छात्रा संख्या तीन हजार दुई सय ४७ र छात्रको संख्या पनि बराबरीजस्तै तीन हजार दुई सय ३५ रहेको छ । बताइएअनुसार जिल्लामा ८६ सामुदायिक, ४९ संस्थागत, पाँच गुरूकुल, प्राविधिक धारतर्फ आठ र खुल्लातर्फ एक विद्यार्थीले एसइई दिनेछन् ।

एसइई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन तीन महिलासहित २८ प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । त्यसैगरी ४३ सहायक केन्द्राध्यक्ष, तीन सय २४ निरीक्षक, परीक्षा सहायक ६४, कार्यालय सहयोगी एक सय २९ र सुरक्षाकर्मी चार सय २० जना गरी कुल एक हजार आठ जनशक्ति एसइईका लागि परिचालित हुने भएका छन् । विद्यार्थी संख्याका हिसाबमा यसपटकको एसइई परीक्षामा भीमसेन आदर्श माविले जिल्लामै सर्वाधिक दुई सय २८ र श्रीमद् रामानुज वेदविद्याश्रम गैँडाकोटले तीन विद्यार्थी सहभागी गराएको छ ।

परीक्षा केन्द्रहरुमा सबैभन्दा धेरै परीक्षार्थी संख्या भानुदय मावि दुम्किबास रहेको छ, जसमा चार सय ३३ विद्यार्थी रहेका छन् । त्यसैगरी, हुप्सेकोट मावि मौलाथर केन्द्रमा ४७ परीक्षार्थी रहेका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट