राप्ती : राप्ती नगरपालिका दुई प्रकारको भूगोलले बनेको नगरपालिका हो । यहाँ तराई र पहाड गरी दुईवटा भूगोल छ । भौगोलिक अवस्थाकै कारण पहाडका जनताको दैनिकी कष्टकर छ । आधारभूत स्वास्थ्यसेवा पाउनसमेत त्यहाँका स्थानीयले कष्ट व्यहोर्नु परिरहेको छ । जनताले पाएको कष्ट, हैरानी, असहज अवस्थालाई सहज बनाउने प्रयास स्थानीय सरकारले गरेको छ ।
राप्तीमा वडा नम्बर–१०, ११, १२ र १३ पहाडी भूभागमा पर्छ, त्यसमाथि वडा नम्बर–१३ झनै विकट र त्यहाँका स्थानीयको अवस्था कहालीलाग्दो छ । यसै अवस्थालाई मध्यनजर गर्दै राप्ती नगरपालिकाले सो वडाको कालिटारमा कालिटार स्वास्थ्य इकाइ स्थापना गरेको छ । कालिटारमै वडा कार्यालय र कालिटार आधारभूत विद्यालय पनि छ । वडा नम्बर–१३ कै कान्दामा पनि अघिल्लो वर्ष आधारभूत स्वास्थ्यकेन्द्र स्थापना गरिएको थियो । सोही वडामै यसअघिदेखि नै वासवाङ स्वास्थ्यचौकी सञ्चालनमा छ । वासवाङमा स्वास्थ्यचौकी हुँदा कान्दा, कालिटारका जनता त्यहीँ तथा वडा नम्बर–१२ पुग्नुपर्ने अवस्था थियो । अब त्यो अवस्था हटेको छ ।
राप्ती नगरपालिका प्रमुख शमशेर लामाले भौगोलिक अवस्थितिका कारण पहाडका जनताले सहजरुपमा सेवा पाउन नसकेकाले स्वास्थ्यकेन्द्रको विस्तार गरिएको बताए । ‘पहाडी भूगोलका कारण त्यहाँका जनताले सेवा पाउन घन्टौँ हिड्नुपर्ने बाध्यता छ’, प्रमुख लामाले भने, ‘घरदैलो वा नजिकैबाट स्वास्थ्यसेवा दिनु हाम्रो कर्तव्य हो, सोही कुरालाई मध्यनजर गर्दै भूगोलअनुसार सेवा विस्तार गरेका हौँ ।’
राप्ती–१३ मा ३ हजार ८६४ जनसंख्या रहेको छ । राप्ती–१३ को कान्दा पनि सबैभन्दा विकट रहेकाले त्यहाँ गत वर्ष स्वास्थ्यकेन्द्र स्थापना गरिएको थियो । अहिले त्यहाँका स्थानीयले सहजरुपमा स्वास्थ्यसेवा पाइरहेका छन् । ‘जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर आवश्यकताअनुसार सेवा विस्तार गर्दै गएका छौँ’, प्रमुख लामाले थपे, ‘जनताको आधारभूत अधिकारमा नगरपालिकाले जिम्मेवारी लिन्छ, लिइरहेको छ ।’
राप्तीको वडा नम्बर–१ र वडा नम्बर–९ मा दुई–दुईवटा स्वास्थ्य संस्था छन् भने अन्य वडाहरुमा एक–एकवटा स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्यकेन्द्र छन् । वडा नम्बर–५ मा भण्डारा नगर अस्पताल रहेको छ । अस्पतालमा अहिले डाक्टरको दरबन्दी बढाउने, सेवा विस्तार गर्ने काम भइरहेको भन्दै गरिब, विपन्न जनताका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालनमा रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij