Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

फिल्मबाट किन हराउन थाल्यो होली गीत ?

फिल्मबाट किन हराउन थाल्यो होली गीत ?

काठमाडौँ : ‘होलीले मेरो रङ्गायो नयाँ चोली’ हरेक वर्षको होलीमा धेरैको रोजाइमा पर्ने यो गीत प्रकाश थापा निर्देशित फिल्म ‘अधिकार’को हो । यो फिल्म २०४९ सालमा निर्माण भएको हो । उदित नारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठको स्वर रहेको गीतमा फिल्मभित्र राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मा लगायतको अभिनय छ ।

फिल्म निर्माण भएको तीन दशकसम्म पनि यो गीतलाई हरेक पुस्ताले रुचाएको देखिन्छ । फिल्म ‘सीता’मा रहेको ‘आज जनकपुरमे होली है’ गीत पनि लोकप्रिय छ । फिल्मभित्र यो गीतमा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, सारङ्गा श्रेष्ठ, राजाराम पौडेल, किरण केसीको नृत्य देख्न सकिन्छ । अशोक शर्मा निर्देशित यो फिल्म २०५१ चैतमा प्रदर्शन भएको हो । फिल्ममा जनकपुर क्षेत्रमा कसरी होली मनाइन्छ भन्ने देखाइएको छ ।

२०५६ सालमा प्रदर्शित फिल्म ‘वसन्ती’मा ‘रातो रातो पहेलो’ बोलको होली गीत छ । ऐतिहासिक कथामा निर्मित नीर शाह निर्देशित फिल्ममा राणाकालीन समयमा दरबारभित्र होली कसरी मनाइन्थ्यो भन्ने कुरा देखाइएको छ । गीतमा राजेश हमाल, करिश्मा मानन्धर र निरुता सिंह लगायतको अभिनय देख्न सकिन्छ । नीर शाहकै शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत, ज्ञानु राणा र लोचन भट्टराईको स्वर छ ।

२०७२ मा प्रदर्शनमा आएको फिल्म ‘फागु’को ‘आउ न आउ खेलौँ होली’ गीत पनि अझै चर्चित छ । अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’मा रहेको गीतमा दयाराम पाण्डेको शब्द, वसन्त सापकोटाको सङ्गीत छ । मीना निरौला, मनोज महत्तो, रञ्जित कुमार सहानीको स्वर रहेको गीतमा शिल्पा पोखरेल र सुवास पराजुलीको अभिनय छ । फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् ।

त्यस्तै २०७४ मा प्रदर्शनमा आएको पुर्णेन्द्र झा निर्देशित फिल्म ‘संरक्षण’मा ‘होरीमे गोरी’ बोलको होली गीत छ । तराई क्षेत्रमा होलीको बेला यो गीत निकै बज्ने गरेको पाइन्छ । किनकि यो गीतको शब्द भोजपुरी भाषामा छ । तर, फिल्म भने नेपाली भाषामा निर्माण भएको थियो । गीतमा नेहा प्रियादर्शन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द र संगीत प्रवेश मल्लिकको छ । सौगात मल्ल र अशिष्मा नकर्मी गीतमा देखाइएका छन् ।

यतिमात्र होइन, २०७३ मा निर्मित ‘गाजलु’ र २०७४ मा निर्मित ‘बटरफ्लाई’सम्म आउँदा फिल्ममा होली गीतले ठाउँ पाउँथे । ५÷६ वर्ष यता निर्माण भएका फिल्ममा भने होली गीत बिरलै पाइन्छ । पछिल्लो समय फिल्म निर्माण बढेको छ । फिल्ममा अर्ग्यानिक कथाको बाहुल्य छ तर पहाडदेखि तराई–मधेसमा उल्लासपूर्वक मनाइने होली संस्कृति भने ओझेलमा पर्दै गएका छन् ।

फिल्मबाट यस्ता गीत हराउनुमा कतिपयले चिन्ता व्यक्त गरेका छन् । आखिर किन हराउँदैछन् फिल्मबाट होली गीत ?

निर्माता, निर्देशक अशोक शर्मा अहिले होलीको गीत नअटाउनुमा त्यस्ता खालका कथा नै प्राथमिकतामा नपर्नु मुख्य कारण रहेको बताउँछन् ।

sahok sharma

‘मेरो धेरै फिल्ममध्ये ‘सीता’मा तराई क्षेत्र आधारित कथा थियो । तराईमा परम्परागत होलीको कल्चर छ । अहिले काठमाडौँ लगायत धेरै ठाउँमा यस्तो कल्चर गइसक्यो । अहिले इभेन्टको रूपमा होली हुन थाल्यो’, शर्माले भने, ‘जुन हेर्दा पनि वास्तविक लाग्दैन ।’

फिल्ममा दसैँ, तिहार, तिज जसरी भावनात्मक रूपमा आउँछ, होलीको सिक्वेन्स कम आउने भएकाले पनि होली गीत देख्न नपाइएको शर्माको भनाइ छ ।

‘होली दसैँ, तिहारजस्तो इमोसनल पर्व पनि होइन । यो रमाइलो पर्व हो’, शर्मा थप्छन्, ‘समेट्ने हिसाबले गीत राख्न त सकिन्छ तर फिल्ममा इमोसनल पर्वहरू बढी फोकस हुने गरेका छन् ।’

तराईका कथामा फिल्म कम बनेका कारण पनि होली गीत कम भएको हुनसक्ने शर्माको धारणा छ ।

पहिले फिल्ममा विभिन्न संस्कृति समावेश गर्ने भएकाले पनि होली गीतले स्थान पाएको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । ‘हिन्दी फिल्ममा अहिले बबाल कोरियोग्राफी भएको होली गीत देखिन्छ । नेपालमा त्यो अनुसारको क्वालिटी छैन’, देउजाले भने, ‘पछिल्ला केही फिल्ममा होली गीत थिए । त्यसमा पर्वको महत्त्वभन्दा पनि फेसनेवल कुरा थियो ।’

ganandra

फिल्ममा होली गीत पब्लिकका लागि राख्ने हो । पछिल्लो समय होली परम्परागत नभएको र दर्शकको रुचिसमेत नदेखिएको कारणले फिल्ममा राख्न नरुचाएको हुन सक्ने देउजा सुनाउँछन् ।

होली रङहरूको पर्व हो । वसन्त ऋतुलाई स्वागत गर्दै मनाइने होलीको गीत छायांकन अन्य गीतको तुलनामा खर्चिलो र अलिकति असहज पनि हुने निर्देशक सम्झना उप्रेती रौनियार बताउँछिन् ।

samjana

‘एक त तराईका कथामा फिल्म बनेका छैनन् । बल्ल बन्न थालेका छन् । तिनीहरूले कसरी समेट्छन् भन्ने हो’, रौनियारले थपिन् ‘अचेल फिल्ममा पहिलो जस्तो म्युजिकको पनि कमी छ । त्यसले गर्दा पनि होली गीत नभएको हो ।’

अन्य गीतभन्दा होली गीत खिच्न खर्चसमेत दोब्बर हुने उनको अनुभव छ । ‘फागु फिल्ममा तराईको कथा भएकाले मैले त्यहाँको कल्चर पनि समेटौँ भन्ने हिसाबले होली गीत राखेको थिएँ’, रौनियार थप्छिन्, ‘त्यसपछि मैले फिल्म बनाएको छैन तर मैले बनाउने फिल्ममा एउटा न एउटा कल्चर गीत राख्ने विचार छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट