Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

आज फागु पर्वः काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

आज फागु पर्वः काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

काठमाडौं : रंगहरुको पर्व होली आज देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली एक आपसमा रङ लगाएर मनाउने गरिन्छ ।

आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने पर्व होलीका अवसरमा आज काठमाण्डौ लगायत देशका विभिन्न शहरमा होली कार्यक्रमको आयोजना गरिएको छ । केही वर्षदेखि होली खेल्ने परम्परा सभ्य पनि बन्दै गएको छ ।

फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने भोली होली मनाइदै छ । होली पर्व अथवा फागु पूर्णिमा प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाउने हिन्दू संस्कृतिको प्रमुख उत्सव हो ।

हिन्दू संस्कृति अनुसार होलीको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका भक्त प्रह्लादसंग जोडिएको होली हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएको पौराणिक कथन छ ।

त्यसैले होली खेल्ने दिनको अघिल्लो रात होलीका दहन गरिन्छ । होलीका दहन पछि बिहानै देखि विभिन्न रंगका अविर आपसमा स्नेहका साथ लगाएर होली खेल्ने गरिन्छ ।यसका साथै फाल्गुण कृष्ण पूर्णिमाका दिन मनाइने होलीका दिनबाट वसन्त ऋतुको आगमन हुने भएकाले यसलाई वसन्तउत्सवकारुपमा पनि मनाउने गरिन्छ ।

सबै उमेर समूहले उत्सवका साथ मनाउने होलीमा रंगहरुका साथै नाचगान र रमाइलो गर्ने पनि चलन छ । होलीलाई पुरानो कटुता समेत समाप्त गरेर आपसमा स्नेह र सद्भाव प्रारम्भ गर्ने सुखद दिनकारुपमा समेत लिइन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट