Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा लगायो रोक

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा लगायो रोक

वासिङ्टन :  अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा रोक लगाएको छ । ह्वाइट हाउसका एक अधिकारीले युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने बताए । समीक्षा गर्नकै लागि तत्काल सैन्य सहायतामा रोक लगाइएको उनको भनाइ थियो ।

अमेरिकाको यो कदम ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच भएको चर्को बहसपछि चालिएको हो ।

युक्रेन–रुस युद्ध सुरु भएपछि युक्रेनलाई हतियार उपलब्ध गराउने अमेरिका मुख्य राष्ट्र हो । ह्वाइट हाउसका अधिकारीले भने, ‘समस्या समाधानमा मद्दत मिलोस् भनेर नै हामीले सैन्य सहायता रोकेर समीक्षा गर्न लागेका छौँ ।’

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्प एकमात्र यस्तो नेता हुन्, जसले युक्रेनमा युद्धलाई स्थायी रुपमा अन्त्य गर्न सक्ने बताएका छन् ।

उनले भने, ‘हामी रुसलाई वार्ताको टेबलमा ल्याउन चाहन्छौँ । शान्ति सम्भव छ कि छैन भनेर हामी पत्ता लगाउन चाहन्छौँ ।’

सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्पीको विद्रोही व्यवहारलाई धेरै समय सहन नसक्ने चेतावनी दिएका थिए । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘रुसका साथ युद्धविराम सम्झौताविना जेलेन्स्की लामो समय सत्तामा टिक्न सक्दैनन् ।’

युक्रेनलाई अमेरिकी सैन्य सहायता तीन माध्यमबाट प्राप्त हुँदै आएको छ । पहिलोमा अमेरिकी राष्ट्रपतिबाट सोझै दिइने रकम । दोस्रोमा अमेरिकी विदेश मन्त्रालयको ‘फरेन मिलिट्री फाइनेन्सिङ’का माध्यमबाट दिइने सहयोग र तेस्रोमा ‘युक्रेन सिक्योरिटी असिस्टेन्ट इनिशिएटिभ’का माध्यमबाट दिइने सहयोग ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट