Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आँबुखैरेनी स्थित ऐना पहराबाट सात महिनामा ३० लाख आम्दानी

आँबुखैरेनी स्थित ऐना पहराबाट सात महिनामा ३० लाख आम्दानी

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख आम्दानी गरेको छ। साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो।

पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले दुई करोड लगानी गरिसकेको छ। यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ। झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ।

यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकको ध्यान आकर्षित गरेको छ। यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक आउने गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। उनले भने, ‘महिनामा तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको छ।’

बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई ५०, विद्यार्थीलाई ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि १०० प्रवेश शुल्क कायम गरिएको छ। गाउँपालिकाले फोहर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ। वर्षायाममा झरना हेर्न र हिउँदमा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटक यहाँ आउने गरेका छन्।रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij