Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

‘एउटा अध्यादेशले त पसिना काढ्नुपरेको छ, संविधान संशोधन धेरै परको कुरा हो’

‘एउटा अध्यादेशले त पसिना काढ्नुपरेको छ, संविधान संशोधन धेरै परको कुरा हो’

विभेद विरुद्धको राजनीतिमा १४ वर्षको उमेरमै हाम फालेकी पम्फा भुसाल वर्तमान नेपाली राजनीतिमा त्यस्ता थोरै महिलामध्ये पर्छिन्, जो नेपाली कम्युनिस्ट आन्दोलनबाट हुर्किएर पार्टी उपाध्यक्ष छन् । कुनै समय साहित्यकार पारिजात अखिल नेपाल महिला संघको अध्यक्ष छँदा महासचिव भएर काम गरेकी उनले पछि नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सक्रियताका साथ भाग लिइन् । पार्टी शान्ति प्रक्रियामा आएपछि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–३ बाट सभासद् बनेर संविधान निर्माण प्रक्रियामा सक्रिय भइन् ।

लामो समयदेखि ५१ प्रतिशत जनसंख्या ओगटेका महिलाले ३३ प्रतिशत नभई ५० प्रतिशत आरक्षण पाउनुपर्ने मत राख्दै आएकी उनी त्यस्ती नेतृ हुन्, जसले संविधान संशोधनको बहस चल्दै गर्दा संवैधानिक र राजनीतिक दुवै आयामबाट यसमा पर्याप्त हस्तक्षेप गर्न सक्छिन् । रातोपाटीले सञ्चालन गरेको संविधान संशोधन बहसको यो शृंखलामा नरेश ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष भुसालसँग गरेको कुराकानी ।

सत्ताधारी पार्टी कांग्रेस–एमाले हुन् वा विपक्षमा रहेको माओवादी केन्द्र, राजनीतिका दुवै धार संविधान संशोधन गर्ने विषयमा एकमत छन् तर के संशोधन गर्ने भन्ने विषयमा फरक मत राख्छन् । त्यस्तो कुन गुह्य कुरा हो, जसले संविधान संशोधनको मुद्दालाई राजनीतिक तहमा अड्काएको छ ? यो संविधान सम्झौताको संविधान हो । सम्झौताको संविधान भएकै कारण हाम्रो पार्टीले आफ्ना भिन्न मत र अडान हुँदाहुँदै ‘नोट अफ डिसेन्ट’ लेखेरै संविधान जारी गर्नमा भूमिका खेल्यो । पहिलो, हामीले शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भनेका थियौँ । दोस्रो, निर्वाचन प्रणालीबारे हाम्रो भिन्न मत थियो ।

अहिलेको निर्वाचन प्रणाली असाध्यै भड्किलो, खर्चिलो र विकृत छ । यसबाट आधारभूत वर्गका नेता तथा कार्यकर्ताले चुनाव लड्न सक्ने अवस्था छैन । त्यसैले हामीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ भनेका थियौँ ।

संविधान निर्माण भएको १० वर्षमा त्यसको संशोधनमा पनि ध्यान दिइनुपर्छ भन्ने राजनीतिक तहमा समझदारी नभएको होइन तर अहिलेको बहस त्यो कोणबाट उठेको बहस होइन ।

नयाँ बनेको सरकार र त्यसलाई टिकाउने गठबन्धन दुवै असंवैधानिक र राजनीतिक संस्कारलाई कुल्चेर बनेका हुन् । संविधानको धारा ७५ को उपधारा ३ बाट बन्नुपर्ने सरकार त्यसलाई छलेर अर्को धारा–उपधाराबाट बनेको छ । यसका साथै संसद्मा रहेका दुई ठुला दल मिलेर सरकार बनाउने प्रचलन आफैँमा लोकतान्त्रिक अभ्यास र प्रचलन होइन । हो यही असंवैधानिक अभ्यासमाथि कसैले प्रश्न नउठाओस् भन्नका लागि संविधान संशोधनको बहसलाई जामाका रूपमा प्रयोग गरिएको छ, सत्ताधारी पार्टीहरूबाट ।

त्यसैले अहिले सत्ताधारी पार्टीद्वारा संविधान संशोधनका विषय चलाइएको बहस साँच्चै देशप्रति र जनताप्रति उत्तरदायी भएर गरिएको हो भन्ने लाग्दैन । त्यसो हुन्थ्यो भने दुई दलीय व्यवस्थामा जानका लागि, थ्रेस होल्ड लगाउनका लागि र संघीयतालाई खारेज गर्ने कोणबाट बहस हुँदैनथ्यो । जबकि राजनीतिक तहमा औपचारिक रूपमा कुन–कुन विषयमा संविधान संशोधन गर्ने भन्ने विषयमा एजेन्डा पेस गरिएको छैन ।

अहिले सत्ताधारी पार्टीद्वारा संविधान संशोधनका विषय चलाइएको बहस साँच्चै देशप्रति र जनताप्रति उत्तरदायी भएर गरिएको हो भन्ने लाग्दैन । त्यसो हुन्थ्यो भने दुई दलीय व्यवस्थामा जानका लागि, थ्रेस होल्ड लगाउनका लागि र संघीयतालाई खारेज गर्ने कोणबाट बहस हुँदैनथ्यो । संविधानको पुनरवलोकन गरिनुपर्छ तर पछाडि फर्कनका लागि होइन, दुई दलीय व्यवस्थातर्फ जानका लागि होइन । दुई दलीय व्यवस्था ठिक थियो र त्यसले नै स्थिरता ल्याउँथ्यो भने ०४६ सालपछिको लामो समय त कांग्रेस–एमालेले नै सरकार चलाएका हुन्, त्यतिबेला स्थिरता किन भएन ? त्यसैले साना, क्षेत्रीय पार्टीहरूलाई थ्रेस होल्ड लगाएर राजनीतिको मूल धारमा निषेध गरेर कांग्रेस–एमालेले आलोपालो सरकार चलाउने र देशलाई पछि धकेल्न खोजेका हुन् भने त्यो नेपाली जनताले र माओवादीले हुन दिनेवाला छैन ।

संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबिच औपचारिक छलफल नै भएको छैन ? कहाँ भएको छ त ? संविधान संशोधनबारे सत्ताधारी पार्टीहरूले कुनै पनि औपचारिक बैठकमा, छलफलमा, संसदमा विषय प्रवेश नै गराएका छैनन् । हो, केही खास नेताहरूले ‘थ्रेस होल्ड’बारे बोलेको सुनिन्छ । केही नेताहरूले नेपालमा दुई दलीय प्राणली हुनुपर्छ भनेर सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको देखिन्छ । तर औपचारिक रूपमा एजेन्डा प्रस्तुत गरेर न राजनीतिक तहमा, न त संसदमा छलफल भएको छ । त्यसो त कुनै एउटा राजनीतिक दलले संविधान संशोधन गर्छु भनेर पनि हुँदैन । एउटा अध्यादेशले त पसिना काढ्नुपरेको छ, संविधान संशोधन धेरै परको कुरा भयो ।

तपाईंहरूले परिकल्पना गरेको शासकीय स्वरूप कस्तो हो ? संविधान निर्माण गरेर देशको यहाँसम्मको राजनीतिक यात्रामा सहभागी भएर हामी के भन्न सक्छौँ भने शासकीय स्वरूप र वर्तमान निर्वाचन प्रणालीबारे देशले नै विचार गर्नुपर्छ । शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भनेका छौँ भने निर्वाचन प्रणालीमा पूर्ण समानुपातिक हुनुपर्छ भनेका छौँ हामीले । अब बन्ने कार्यकारीको मन्त्री परिषद्मा मन्त्रीहरू संसदबाट होइन कि कार्यकारीले विज्ञ/विशेषज्ञबाट छानेर लैजान मिल्ने खालको बनाउनुपर्छ ।

यता पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट आएका प्रतिनिधि सभाका सांसदले विकास निर्माणमा होइन कि विधेयक बनाउनुमै जोड दिनुपर्छ । उनीहरूले गाउँको पुल होइन कि देशको कानुन बनाउनुमा आफ्नो मस्तिष्क प्रयोग गर्नुपर्छ । जनताको पीर–मर्का समाधान गर्ने ऐन, नियम, कानुन जसले बनाउँछ उसलाई मेरिटोक्रेसीका आधारमा संसद्मा पुर्‍याइनुपर्छ । यस्तो व्यवस्थाले मात्रै हामीलाई स्थायित्वतर्फ लैजान्छ भन्ने माओवादी केन्द्रको बुझाइ छ ।अहिले संविधान संशोधनको हावा चलाइरहेका सत्ताधारीहरू जनताले पाएको अधिकार खोस्न र देशमा आफ्नो बिर्ताजस्तै दुई दलीय व्यवस्था कायम गराउन चाहन्छन् । सकारात्मक विभेदको नीति अन्तर्गतको समानुपातिक सहभागिताको व्यवस्थालाई संविधान संशोधनको सन्दर्भमा ख्याल गरिनुपर्छ कि पर्दैन ? एतिहासिक रूपमा हजारौँ वर्षदेखि विभेदको चपेटामा परेका जातजाति, लिङ्ग, वर्ग, भूगोलका मानिसलाई राजनीतिको मूलधारमा ल्याउन माओवादी आन्दोलनले ठुलो भूमिका खेल्यो भन्नेमा कुनै शंका भएन । समानुपातिक, समावेशी प्रनिनिधित्वको मुद्दा त्यहीँबाट उठेर आएको हो । आज फागुन १ अर्थात् जनयुद्ध दिवसका दिन म ती सबै उत्पीडित समुदायका आम नेपालीलाई सम्झन चाहन्छु, जसले हिजोका दिन माओवादीलाई गाँस दिनुभयो, बास दिनुभयो र साथ दिनुभयो । उत्पीडित र सीमान्तमा धेकेलिएका जनताको पक्षमा माओवादी पार्टी रहुन्जेल उसले आवाज उठाइरहन्छ ।

के नेपाली समाज हिजोकै अवस्थामा छ ? पहिले पो महिला, दलित, जनजाति तथा आदिवासी, उत्पीडित क्षेत्र तथा भूगोलको मुद्दा माओवादीको थियो । उसले ती उत्पीडित समुदायलाई उठाउन भूमिका खेल्यो, उनीहरूलाई आवाज दियो । तर आजका दिन यी सबै मुद्दा ती समुदायकै हुन् । आजका दिन नेपाली महिला सचेत छन् । हिजोको विभेदकारी जालो च्यातेर आएका महिलाले आफ्नो जनसंख्याको प्रतिशतकै हाराहारीमा प्रतिनिधित्व चाहन्छन् । म पनि यो देशका ५१ प्रतिशत महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित होस् भन्ने चाहन्छु । त्यसका साथै यो देशका १४ प्रतिशत दलित, ३५ प्रतिशत जनजाति, २२ प्रतिशत मधेसी, चार प्रतिशत मुस्लिम सबै–सबै राज्यका अंगमा आफ्नो प्रतिनिधित्व चाहन्छन् ।

अहिले संविधान संशोधनको हावा चलाइरहेका सत्ताधारीहरू जनताले पाएको अधिकार खोस्न र देशमा आफ्नो बिर्ताजस्तै दुई दलीय व्यवस्था कायम गराउन चाहन्छन् । अब प्रश्न के हो भने के यो देशका महिला, दलित, जनजाति, आदिवासी, थारु, मुस्लिम उनीहरूले भनेजस्तै देशलाई पछाडि फर्काउन तयार हुन्छन् ? सत्ताधारी वर्गको मनमै ‘यो अछुत मान्छे, मेरै छेउमा बस्ने ?’ भन्ने लागेको छ । त्यसैले उनीहरूलाई यो समानुपातिक, समावेशिता मनै परेको छैन । उनीहरू आफ्नो पुरानै स्वर्गको ‘शिश महल’ बनाउन चाहन्छन् । मलाई के लाग्छ भने आजको नेपाली समाजमा उनीहरूको पश्चगामी सोचको ‘शिश–महल’ उनीहरूको दिमागबाहेक यथार्थमा बन्न सम्भव छैन ।

नेपाल बहुलता भएको देश हो, यहाँको फूलबारीमा सबैखाले फूलहरू हुर्कन पाउनुपर्छ । सबैले आफ्नो अधिकारको उपभोग गर्न पाउनुपर्छ तर सत्ताधारी दलका नेताहरूले त्यसरी सोची रहेका छैनन् । उनीहरू जनताको अधिकार खोस्न र आफूले मात्रै अधिकारको उपभोग गर्न चाहन्छन् । त्यसैले माओवादीले र सत्ताधारीले उठाएको संविधान संशोधनको बहस दुई भिन्न कोणबाट सतहमा देखापरेको छ । सत्ताधारीहरू संविधानलाई पछि फर्काउन चाहन्छन्, माओवादी त्यसलाई अघि बढाउन चाहन्छन् ।

संविधान संशोधनको चर्चा चलिरहेकै समयमा प्रदेश संरचनाबारे विचार गरिनुपर्छ भन्नेजस्ता आवाजहरू उठिरहेका छन्, यसलाई माओवादीले कसरी हेरेको छ ? संविधानले व्यवस्था गरेका सबै अधिकार तल दिएर मात्रै संघीयताको सफल अभ्यास हुन्छ । सबैभन्दा धेरै स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउनुपर्छ । त्यसपछि प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ । संघ भनेको नीति–निर्माण गर्ने तह मात्रै हुनुपर्छ । विकास निर्माणका सन्दर्भमा राष्ट्रिय गौरवका योजनाहरूमा बाहेक संघले हात हाल्नु हुँदैन । त्यसैले यसमा पनि अधिकार जनतालाई दिने वा सिंहदरबारमा अधिकार राखेर मालिक बन्ने भन्ने प्रश्न यहाँ जोडिन आइपुग्छ ।

संविधानलाई सच्याउन त पर्छ नै, त्यति मात्रै नभएर अब नेपाली महिलाले राज्यका सबै अंगमा ५० प्रतिशत प्रतिनिधित्वको अवसर पाउने व्यवस्था गर्नुपर्छ ।संविधान संशोधनको संघारमा आइपुग्दा पनि अहिलेसम्म संघीय निजामती ऐन बनेको छैन । प्रदेशले आफ्ना कर्मचारी नियुक्त गर्न र परिचालन गर्न सकेको छैन । प्रहरी समायोजन ऐन कार्यान्वयन भइरहेको छैन । प्रदेशको सुरक्षा फौज र कर्मचारी हुँदा बल्ल न त्यसले पूर्ण रूपमा काम गर्न सक्ने थियो । तर अधिकार तल नदिने अनि प्रदेशमा जनप्रतिनिधि र कर्मचारी भत्ता खान बसेकाजस्ता भए भनेर हुन्छ र ? त्यसैले यो भाष्य नै गलत छ । हामीले भनेको पहिचानसहितको संघीयतामा हामी जान सकेनौँ तर संविधानमै उल्लेख गरिएको स्वशासित र स्वात्त क्षेत्र बनाउनेबारे हामीले अभ्यास पनि गर्न सकेनौँ । त्यसैले अबको हाम्रो जोड स्वशासित र स्वायत्त क्षेत्र बनाउनेमा पनि केन्द्रित हुन जरुरी छ । लोकतन्त्रलाई वास्तविक लोकतन्त्रका रूपमा फक्रन त्यसले थप सहयोग गर्नेछ भन्नेमा माओवादी विश्वस्त छ ।

यस आधुनिक समयमा पनि हाम्रो संविधानले महिलालाई दोयम दर्जाको नागरिकका रूपमा हेर्ने गर्छ । एउटै अवस्थामा संविधानले महिला र पुरुषलाई भिन्न ढंगले हेर्ने गर्छ । संविधान संशोधनको बहसमा यो मुद्दा कत्तिको जरुरी ठान्नुहुन्छ ? तपाईंले भनेको कुरा सही हो । आज पनि नेपाली महिलाले सन्तानलाई राज्यका अघिल्तिर चिनाउनका लागि उसको बाबु देखाउनुपर्ने अवस्था छ । सन्तानका निम्ति त आमाभन्दा ठुलो प्रमाण को हुन्छ र ? एउटी आमा अर्थात् नेपाली महिलालाई पूर्ण अधिकार दिने सन्दर्भमा हाम्रो संविधान चुकेकै हो । खुला बोर्डर आदि–इत्यादि कुरा देखाएर महिलालाई समान अधिकार दिइएन ।

त्यसमा संविधानलाई सच्याउन त पर्छ नै, त्यति मात्रै नभएर अब नेपाली महिलाले राज्यका सबै अंगमा ५० प्रतिशत प्रतिनिधित्वको अवसर पाउने व्यवस्था गर्नुपर्छ । यसका साथै अहिले संविधानले दिएका कैयौँ अधिकार लागु हुन सकेका छैनन्, त्यसलाई पनि कार्यान्वयन गराउनेतर्फ लैजानुपर्छ । यहाँ दुःखको कुरा त के छ भने सत्ताधारी पार्टी ती अधिकार पनि खोस्नतर्फ उद्यत् छ । जनतालाई दिइएको अधिकार कटौती गर्न र अन्ततः देशलाई प्रतिगमनमा फर्काउन सत्ताधारीले जसरी प्रयत्न गरिरहेका छन्, त्यसमा सबै नेपाली जनता सचेत हुनुपर्ने अवस्था छ ।

अन्त्यमा, महिला नेतृत्वका हिसाबले तपाईं आफू वा आफूजस्तै महिला एक दिन नेपालको कार्यकारी प्रमुखको पदमा पुग्ने परिकल्पना गर्नुहुन्छ ? मैले मात्रै होइन, नेपालका हरकोही महिलाले गर्छन् । नेपाली महिलाले राष्ट्रप्रमुख, सभामुख र न्यायालयको नेतृत्व गरिसके । कुनै बेला हतियार र हलो समाउनु हुँदैन भन्ने महिलाले नेपालका ठुल्ठुला ब्याटल र मोर्चाहरूमा विजय हासिल गरिसके भने नेपाली महिला कार्यकारी प्रमुखको पदमा हुन सक्दैनन् र तिनले गर्न सक्दैनन् भन्ने केही छैन ।

हाम्रो सन्दर्भमा कुरा गर्ने हो भने हामी पार्टीको ढाँचा र प्रणालीमा छौँ । म पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा छु । त्यसैले म आफूलाई महिला मात्रै ठान्दिनँ, म त यो देशको प्रमुख पार्टीको जिम्मेवार पदाधिकारी हुँ । पार्टीले यो राष्ट्रको नेतृत्व गर्ने बेला तात्कालिक आवश्यकता कस्तो हुन्छ र त्यसका लागि को उपयुक्त हुन्छ भनेर तय गर्ने पार्टीले नै हो । मलाई लाग्छ इच्छा भन्दा बेसी आवश्यता र त्यो आवश्यकता पूरा गर्ने संयोग महत्त्वपूर्ण हुन्छ होला ।

तपाईंले प्रश्न गर्दैगर्दा मैले मेक्सिकोकी महिला राष्ट्रपति क्लाउडिया सेइनबउमले हालै गरेको भाषण सम्झँदै थिएँ, जहाँ उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै छिन् । आइसल्यान्डकी प्रधानमन्त्री क्रिस्ट्रुन फ्रोस्टाडोटिर सम्झिँदै थिएँ । बिल्कुलै उनीहरूकै स्तरमा नेपाली महिला आजका दिन धेरै सशक्त र दृढ छन् । उनीहरूलाई के गर्ने र के नगर्ने भन्ने थाहा छ । उनीहरू आफ्नो र यो राष्ट्रको मुहार फेर्न सबै कोणमा सक्रिय छन् । त्यसैले तपाईंले भनेको कुरा सम्भव छ । त्यो कार्यकारी पदमा यो देशको जो महिला पुगे पनि म पम्फा भुसाल पुगेकी हुन्छु, सबै नेपाली महिला पुगेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij