पश्चिम नवलपरासी : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत बन्ने प्रसारण लाइनका लागि पश्चिम नवलपरासीमा टावर रहने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ ।
साढे २१ करोड मुआब्जा मध्ये ७ करोड मात्र भुक्तानी बाँकी छ।१ सय २४ जनाले मुआब्जा पाउनुपर्नेमा९४ जनाको खातामा पैसा गइसकेको छ।बाँकी भुक्तानी पनि जग्गाधनीकै समस्याका कारण बाँकी रहेको एमसीए नेपालले जनाएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) अन्तर्गत बन्ने प्रसारणलाइनका लागि टावर निर्माण गर्न जग्गाको अवस्था हेरिकन प्रतिकठ्ठा ९ लाख १४ हजार देखि ७३ लाख ६७ हजार सम्म रकम भुक्तानी गरिएको छ ।
साना ठूला दुई प्रकारका टावर निर्माणका लागी १ कठ्ठा ८ धुर देखि २ कठ्ठा सम्म जग्गा अधिग्रहण गरिएको छ । लप्सीफेदिबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन अन्तर्गत नवलपरासीमा पर्ने ३३ किलोमिटर प्रसारणलाइनका लागि १ सय २ वटा टावर निर्माण हुने छ ।जसमध्ये सुनवल सुर्यबस्तीमा रहेको सवस्टेशनदेखि पाल्हीनन्दनसम्म कुल १८ दशमलव २ किलोमिटरमा बन्ने ५४ वटा टावरको मात्र मुआब्जा वितरण भएको हो ।
टावर रहने स्थानको मुआब्जा टुङ्गो लागेर वितरण भइरहेपनि तारमुनिको जग्गाको भने क्षतिपुर्ति मूल्याकंन हुन बाँकी छ । जसका लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मूल्याकंन समिति बनेकाले ३५ दिन भित्र तारमुनिको जग्गाको मूल्याकंन गरी क्षतिपुर्ति सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताउनुभयो ।
यसैबिच तारमुनिको जग्गाको मूल्याकंन नहुँदै जग्गाधनीहरू भने जग्गाको क्षतिपुर्ति नभई जग्गाको मुआब्जा पाउनुपर्ने भन्दै स्थानीय तहमाथि दबाब सृजना गर्न थालेका छन् ।किसान सङ्घर्ष समिति बनाएर हाइटेन्सन लाइनको तारमुनि जग्गा पर्ने जग्गाधनीहरूले टावरको जग्गा जस्तै आफूहरूले पनि पुरा क्षतिपुर्ति पाउनुपर्ने माग गरेका छन् ।
रामग्राम नगरपालिकामा जनप्रतिनिधि सहितको टोलीसँग भएको छलफलमा जग्गाधनीहरूले तारमुनिको जग्गाको उपयोगिता नहुने भन्दै क्षतिपुर्ति नभए मुआब्जा दिनुपर्नेमा माग गरेका हुन् ।सङ्घर्ष समितिका अध्यक्ष मनोज मौर्यले स्थानीय तहका जनप्रतिनिधिले यसमा भूमिका खेल्नुपर्ने भन्दै उचित क्षतिपुर्ति पाउनुपर्ने माग गर्नुभयो ।
सो क्रममा नगर प्रमुख धनपत यादवले जग्गाको खनजोत गर्दे आएको र त्यही जग्गाको भरमा जिविकोपार्जन गर्दे आएका किसानहरू मारमा पर्ने विषयमा आफू जानकार रहेको बताउँदै नगर प्रमुख यादवले बढि भन्दा बढि क्षतिपुर्तिका लागी पहल भइरहेको बताउनुभयो ।बर्दघाटदेखि पाल्हीनन्दनसम्म विस्तार हुने प्रसारण लाइनको तारमुनि ९ सय ५० जनाको जग्गा पर्ने बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij