Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

ठोरी जंगल रिसोर्टको तेस्रो वार्षिकोत्सवः पर्यटन प्रबद्र्धनमा हातेमालो गर्ने सरोकारवालाको प्रतिबद्धता

ठोरी जंगल रिसोर्टको तेस्रो वार्षिकोत्सवः पर्यटन प्रबद्र्धनमा हातेमालो गर्ने सरोकारवालाको प्रतिबद्धता

वीरगञ्ज : पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ठोरी गाउँपालिका वडा नम्बर २ मा अवस्थित ठोरी जंगल रिसोर्टको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित ‘ठोरीको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सहकार्यको आवश्यकतामा सहभागीहरूले ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा पर्यटन विकास कार्यालय वीरगञ्जकी प्रमुख बबिता जयसवालले ठोरीको पर्यटन विकास र प्रवद्र्धनमा कार्यालय प्रतिबद्ध रहेको बताइन् । उनले ठोरीलाई पर्यटकीय हबको रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण, प्रचार–प्रसार, नीति निर्माण र सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन् । ‘‘हामी पर्यटन व्यवसायी र नीति निर्माताको बीचमा सेतुको रूपमा काम गर्छौं । यहाँका पर्यटन व्यवसायीहरूले भोगिरहेका समस्यालाई सम्बोधन गर्न हाम्रो कार्यालय हरदम तत्पर रहनेछ,’’ उनले भनिन् ।

कार्यक्रममा ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पिएल श्रेष्ठले ठोरी प्राकृतिक रूपमा नै एक सुन्दर गन्तव्य रहेको बताउँदै यसको व्यवस्थित विकासबाट आर्थिक समृद्धि ल्याउन सकिने धारणा राखे । ठोरीलाई ऐतिहासिक, सांस्कृतिक र जैविक विविधता भएको क्षेत्रका रूपमा प्रचार गर्दै आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

वडा नम्बर २ का वडाध्यक्ष कृष्ण सापकोटा, वडा नम्बर ४ का वडाध्यक्ष मान बहादुर थिङ्ग, नेकपा (एमाले) ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ (अशोक), ठोरी निर्मल उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले ठोरीको पर्यटकीय सम्भावना, चुनौती र विकास योजनाबारे धारणा राखेका थिए । उनीहरूले ठोरीको पर्यटकीय आकर्षण बढाउन होमस्टे सञ्चालन, ट्रेकिङ रुट विकास, प्रचार–प्रसार अभियान, पर्यटनमैत्री नीति निर्माण र निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायको क्षेत्रमा योगदान पु¥याएका तीन जनालाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । रिसोर्टका निर्देशक धिर सिंहका अनुसार मधेश प्रदेशमै पहिलो होमस्टे सञ्चालन गर्ने सुनाखरी होमस्टेका सञ्चालक शम्भुराम पौडेल, बुद्धिबहादुर तामाङ् र विवेक बादललाई सम्मान गरिएको हो । पर्यटन प्रवद्र्धनमा योगदान गर्ने व्यवसायीहरूलाई सम्मान गर्दै स्थानीयस्तरमा पर्यटन विस्तारको पहल गर्ने उद्देश्य रहेको सिंहले बताए ।

रिसोर्टका अध्यक्ष सुदिप थापाले ठोरीको पर्यटन प्रवद्र्धन नै रिसोर्ट सञ्चालनको मुख्य उद्देश्य रहेको बताए। उनले स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र पर्यटन गतिविधि वृद्धि गर्दै ठोरीलाई नयाँ गन्तव्यको रूपमा स्थापित गर्ने अभियानमा रिसोर्ट क्रियाशील रहेको उल्लेख गरे ।

सहभागीहरूले ठोरीको पर्यटकीय विकासका लागि रणनीतिक योजना निर्माण, होमस्टे व्यवस्थापन, सडक तथा यातायात सुविधा विस्तार, प्रचार–प्रसारका कार्यक्रम सञ्चालन, सरकारी तथा निजी क्षेत्रको सहकार्यलाई बलियो बनाउनुपर्ने सुझाव दिएका छन् ।

ठोरीको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक सम्पदालाई पर्यटन विकाससँग जोड्दै व्यवस्थित रूपमा प्रवद्र्धन गर्ने हो भने ठोरी निकट भविष्यमा नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सरोकारवालाहरूको निष्कर्ष रहेको छ ।

वार्षिकोत्सवकै अवसरमा यसअघि रक्तदान, पर्यटन प्रवद्र्धन सम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र ठोरीका पर्यटकीय स्थलको विवरण समावेश गरिएको डिजिटल क्यूआर कोड लगाउने कार्य समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट