Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अर्थतन्त्रलाई चलायमान बनाउँदै महा महोत्सब

अर्थतन्त्रलाई चलायमान बनाउँदै महा महोत्सब

चितवनः देवघाटमा जारी महामहोत्सवको प्रभावले नारायणघाटदेखि देवघाट क्षेत्रसम्मको आर्थिक गतिविधि उल्लेखनीय रूपमा वृद्धि भएको छ। माघ महिनामा मकर स्नानको अवसरमा त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा लाखौं भक्तजनको आगमनले स्थानीय व्यापार-व्यवसायले फाइदा लिएको छ। देवघाट क्षेत्रका व्यवसायीहरू , “यो माघ महिना विशेषगरी देवघाटका लागि अत्यन्तै महत्त्वपूर्ण छ। यहाँका होटल, गेष्ट हाउस, यातायात सेवा, किराना पसल, धार्मिक सामग्री बिक्री गर्ने व्यवसायी, तथा अन्य थुप्रै क्षेत्रहरू यस महामहोत्सवको कारण चहलपहलमा छन्। एक व्यक्ति इश्वर कृष्ण महाराजको आव्हानमा केवल ८-१० वर्षमा एक पटक आयोजना हुने महामहोत्सवका कारण मात्र नभई प्रत्येक माघ महिनामा मकर स्नानलाई पनि यस्तै दिव्य, भव्य र उत्सवमय बनाउन स्थानीय निकाय र सरकारले दीर्घकालीन योजना बनाउनुपर्छ।” भन्नेमा एकस्वर छन् |

देवघाटलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न माघ महिना विशेष अवसरका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायीहरू जोड दिन्छन्। स्थानीय व्यापारीहरूले देवघाट क्षेत्रको महत्वबारे व्यापक प्रचारप्रसार गर्नुपर्ने र प्रत्येक माघ महिनामा मकर स्नानको अवसरमा ठूला कार्यक्रमहरू आयोजना गर्नुपर्ने माग गरेका छन्। देवघाट क्षेत्रको पर्यटन र अर्थतन्त्रलाई अझ सशक्त बनाउन देवघाटका स्थानीय निकाय, चितवन, नवलपुर र तनहुँका प्रशासनिक निकायहरू, र नेपाल सरकारको सहकार्य आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।

देवघाट धार्मिक र सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो, जसलाई “आदि प्रयाग” भनिन्छ। धार्मिक मान्यताअनुसार माघ महिनामा देवताहरू स्वयं त्रिशूली र कालीगण्डकीको संगममा स्नान गर्न आउने विश्वास छ। यस्तो ऐतिहासिक र आध्यात्मिक महत्त्व बोकेको क्षेत्रको प्रचारप्रसार गरिनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार, यदि माघ महिनालाई विशेष कार्यक्रम र उत्सवमय वातावरणका साथ मनाउने हो भने यो देवघाटको मात्र नभई सिङ्गो क्षेत्रकै विकास र समृद्धिका लागि टेवा पुर्‍याउनेछ। देवघाट क्षेत्रका एक व्यवसायीले भने, “महामहोत्सव जस्तो भव्य कार्यक्रमले क्षेत्रीय अर्थतन्त्रलाई कस्तो प्रभाव पारेको छ, यो देखिएकै कुरा हो। यस्तो महामहोत्सव प्रत्येक वर्ष माघ महिनामा गर्न सके, देवघाट धामले अझ धेरै पर्यटक भित्र्याउन सक्छ र स्थानीय अर्थतन्त्रमा दीर्घकालीन सुधार ल्याउन सक्छ।”

महामहोत्सवले धार्मिक आस्थालाई केन्द्रित गर्दै भक्तजनहरूलाई त आकर्षित गरेको छ नै, साथसाथै स्थानीय व्यापार-व्यवसाय, यातायात, होटल तथा कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पारेको छ। मातापिता सेवाश्रम तथा देवघाट दिव्यधामका परिकल्पनाकार ईश्वर कृष्ण महाराजको नेतृत्वमा गरिएको यो भव्य आयोजनाले क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा अभूतपूर्व योगदान दिएको छ। माघ महिनालाई देवघाट क्षेत्रका लागि आर्थिक, सांस्कृतिक र धार्मिक दृष्टिले अझ सशक्त बनाउन सरकार, स्थानीय निकाय र व्यवसायीहरूको सहकार्य आवश्यक छ। धार्मिक पर्यटनको प्रवर्द्धनले केवल धार्मिक आस्था मात्र होइन, क्षेत्रीय अर्थतन्त्रलाई समेत समृद्ध बनाउने बलियो आधार तयार गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट