Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विनयी खोलाको पुल निर्माणको सुरसारै भएन, बल्ल सरोकारवालाको निरीक्षण

विनयी खोलाको पुल निर्माणको सुरसारै भएन, बल्ल सरोकारवालाको निरीक्षण

काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल अझै मर्मत गर्ने सुरसार छैन्। क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको मालबाहक ट्रक पुल पार गर्ने क्रम्मा पुल एक्कासी भाँचिएको थियो।

त्रिवेणी गाउँपालिका दुम्कीवासमा रहेको विनयी खोलाको पुल भाँचिएपछि तत्काल डाईर्भसन यातायात सुचारु गरिएकोमा अहिलेसम्म पुल मर्मतको काम नहुँदा यहाँ भएर यात्रा गर्नेहरुले सास्ती खेप्न बाध्य छन्।

२ सय ४६ मिटर लम्बाईको पुलको भारवहन क्षमता एक एक्सल १० टन भएकोमा बढीमा ६० टन सम्म क्षमता रहेकोमा एक सय १० टन भार बोकेको मालवाहक ट्रक पुल पार गर्न खोज्दा पुल भाँचिएको थियो।

मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन नहुँदा अधिक लोड बोकेको मालवाहक ट्रकले पुलमा क्षति पुराएकोमा कारबाही माग गरिएको थियो।

बाराको वीरगञ्ज भन्सारबाट छुट्नु पर्ने उक्त लरी कपिलबस्तुको कृष्णनगर भन्सारबाट छुटी हेटौंडा तर्फ गइरहेको थियो।

दुर्घटना पश्चात करिब एक किलोमिटर सडक डाईभर्सन गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिरहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए। वर्खा लागेपछि डाईभर्सन बगाउने जोखिम भएकाले वर्खायाम सुरु नहुँदै पुल मर्मत गर्न गाउँपालिका अध्यक्ष गिरीले सम्बन्धि निकायलाई आग्रह गरेका छन्।  २०३२ सालमा सञ्चालनमा आएको ट्रस्ट पुलमा झण्डै २ करोडको क्षति पुगेको अनुमान गरिएको छ।

बिहीवार भाँचिएको पुलको निरीक्षण गर्न भौतिक पूर्वाधार सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, नारायणगढ –बुटवल सडक विस्तार आयोजनाका प्रमुख चुडाराज ढकाल साथै प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार र गाउँपालिका अध्यक्ष गिरी सहितको सरोकारवाला निकायको टोलीले निरीक्षण गरेपनि ठोस निर्णय हुन बाँकी छ।

चार खण्ड रहेको पुलमा दुई खण्ड निर्माण गर्नु पर्ने देखिएको निरीक्षण टोलीका सदस्य नारायणगढ–बुटवल विस्तार आयोजनाका प्रमुख ढकालले जानकारी दिनु भयो। चार खण्ड मध्ये अहिलेलाई तत्कालका लागि एक खण्डलाई पुर्ने र अर्को आधा क्षति पुगेको खण्ड मर्मत गरी अस्थायी रुपमा यातायात सञ्चालन गर्ने तयारी गरिएको ढकालको भनाइ छ।

साथैसँगै आयोजनाले निर्माण गरिरहेको सँगैको नयाँ पुल कात्तिककमा सम्पन्न गर्नुपर्ने मा असार सम्म निर्माण पूरा गर्न पनि आग्रह गरिएको पनि आयोजना प्रमुख ढकाल बताउँछन्।

नयाँ पुलबाट यातायात सञ्चालनमा आएपछि भने भत्किएको पुल नयाँ ठेक्का लगाएर मर्मत गरिने तयारी छ। पुल बन्नका लागि कम्तिमा एक वर्ष सम्म समय लाग्ने अनुमान छ। पुल भाँचिदा भएको सवारी जाम लगायतका कारणले निर्माणाधीन नारायणगढ –बुटवल सडक खण्ड थप ढिलाई हुने भएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट